हावाहुरीले २० भन्दा बढी घरमा क्षति
पूर्वी नवलपरासी । मंगलबार साँझ आएको हावाहुरीसहितको वर्षाले पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ मा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार २० भन्दा बढी घरमा क्षति पुगेको स्थानीयले बताएका छन्।
विनय त्रिवेणी–१ बगुवनमा मात्र करिब १५ वटा घरका छाना उडेको स्थानीय बुद्धराज विश्वकर्माले जानकारी दिएका छन्। उनका अनुसार छाना उड्दा घरभित्र राखिएको अन्नपात र लत्ताकपडा भिजेर सर्वसाधारणलाई ठूलो समस्या भएको छ।
हावाहुरीका कारण बगुवनस्थित एक आधारभूत विद्यालयको खानेपानी ट्यांकी समेत ढलेको छ। साथै विद्युत् आपूर्ति अवरुद्ध हुँदा स्थानीयवासी थप समस्यामा परेका छन्।
त्यसैगरी सिसेनी गाउँमा पाँच वटा घरमा क्षति पुगेको र अन्य स्थानमा समेत घरका छाना उड्ने तथा संरचना क्षतिग्रस्त भएको वडा अध्यक्ष दीपक पौडेलले जानकारी दिएका छन्।
स्थानीय तहले क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ।
