बालेनको बचाउ गर्दै खनालले भने – ‘उहाँले ‘क्रसबोर्डर अकुपेन्सी’को प्रसङ्गमा भन्नु भएको हो’
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसदमा दिएको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टिकरण दिएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल-भारत सीमाको विषय दुई देशबीचको विषय भएकाले त्यसको समाधान पनि द्विपक्षीय संवादबाटै खोजिने बताएका हुन्।
परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीले उल्लेख गरेको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति सीमावर्ती क्षेत्रमा देखिएको ‘क्रसबोर्डर अकुपेन्सी’ अर्थात् सीमा क्षेत्रमा बसोबास र उपयोगसँग सम्बन्धित प्रसङ्गमा आएको दाबी गरे।
उनले प्रधानमन्त्रीले सीमाबारे बोल्ने क्रममा बेलायतको नाम लिएको विषय ऐतिहासिक दस्तावेज र अभिलेखसँग जोडिएको सन्दर्भमा आएको उल्लेख गरे।
त्यसलाई कुनै तेस्रो मुलुकको हस्तक्षेप वा मध्यस्थताको प्रस्तावका रूपमा बुझ्न नहुने उनको भनाइ थियो।
मन्त्री खनालले नेपालले भारतसँगको सीमा विवाद समाधानका लागि कुनै तेस्रो देशको मध्यस्थता नखोजेको स्पष्ट पार्दै सीमाका विषयहरू आपसी वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने नेपालको स्थापित नीति रहेको बताए।
