आङ्देम्बेको लामिछानेमाथि कटाक्ष – ‘दिल्ली पुगेर के गर्नुभयो ?’
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सीमा मुद्दामा मौन बसेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले भारत भ्रमणका क्रममा लामिछानेले नेपाल-भारत सीमा विवाद, कालापानी, लिपुलेकलगायतका संवेदनशील विषय उठाउन नसकेको भन्दै प्रश्न गरे।
‘दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनुभयो ?’ उनले कटाक्ष गर्दै भने।
आङ्देम्बेले लामिछानेले यसअघि ‘सीमाको विषय ढोल बजाएर छलफल गर्ने कुरा होइन’ भन्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै त्यसप्रति पनि असहमति जनाए।
सीमा समस्याजस्तो राष्ट्रिय सरोकारको विषयलाई गम्भीर कूटनीतिक ढंगले उठाउनुपर्ने भए पनि त्यसलाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो।
‘हामीलाई पनि थाहा छ, ढोल बजाएर हुँदैन। यसका आफ्नै मापदण्ड, प्रक्रिया र कूटनीतिक माध्यम हुन्छन्,’ उनले भने, ‘तर राष्ट्रिय हितका विषयमा बोल्नै नहुने भन्ने होइन।’
सीमा विवादको विषयमा सरकार र सत्तापक्षको भूमिकामाथि प्रश्न उठाइरहेका आङ्देम्बेले भारत भ्रमणका क्रममा नेपाली भूमि र सीमा समस्याको विषय प्राथमिकताका साथ उठाइनुपर्ने धारणा राखे।
उनले राष्ट्रिय हितसँग जोडिएका मुद्दामा सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने पनि बताए।
