२० पटक मन्त्रिपरिषद् हेरफेर, ५० मन्त्री बने
काठमाडौं । प्रदेश सरकारहरूमा मन्त्री बन्ने होड र केन्द्रको सत्ता समीकरणअनुसार हुने राजनीतिक फेरबदलका कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सरकार अस्थिर बन्दै गएको देखिएको छ।
लुम्बिनी प्रदेशमा पछिल्लो साढे तीन वर्षको अवधिमा चार मुख्यमन्त्रीसहित ५० जना मन्त्री बनिसकेका छन्। ८७ सदस्यीय प्रदेश सभामध्ये ३६ सांसदले मन्त्री बन्ने अवसर पाएका छन् भने केही सांसद चार–चार पटकसम्म मन्त्री पदमा दोहोरिएका छन्।
प्रदेशमा २०७९ यता चार पटक सरकार परिवर्तन भएको छ। यस अवधिमा एमालेका लीला गिरी, कांग्रेसका डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रका जोखबहादुर महरा र हाल एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन्।
हालै एमाले र जनता समाजवादी पार्टी (जसपा) का पाँच मन्त्री फेरबदल गरिएका छन्। बजेट पारित भएपछि कांग्रेसका मन्त्रीहरू समेत परिवर्तन गर्ने तयारी भइरहेको स्रोतहरू बताउँछन्।
यता सुदूरपश्चिम प्रदेशमा पनि राजनीतिक अस्थिरताको अवस्था उस्तै देखिएको छ। साढे तीन वर्षको अवधिमा चारवटा सरकार गठन भएका छन् भने २० पटक मन्त्रिपरिषद् गठन तथा पुनर्गठन गरिएको छ।
५३ सदस्यीय प्रदेश सभामध्ये ३६ सांसद मन्त्री बनिसकेका छन्। सरकार परिवर्तन र मन्त्री हेरफेरको श्रृंखला निरन्तर चलिरहँदा प्रदेश सरकारको कार्यसम्पादन र स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ।
