`

अर्थमन्त्री वाग्लेको विपक्षीलाई कटाक्ष – ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ छैनौँ, ती पनि खुल्दै जानेछन्’

Nepal One HD २८ जेठ २०८३ १७:०९
अर्थ समाचार

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा करका दर हेरफेर गरेको आरोपको प्रतिनिधिसभाबाटै खण्डन गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको दाबी गरे।

संसद्मा बोल्दै वाग्लेले आफूले व्यापारीलाई फाइदा पुग्ने गरी गोप्य रूपमा करका दर परिवर्तन गरेको भन्ने आरोपको प्रतिवाद गरे। यस्ता अभिव्यक्तिले संसद्को गरिमा र विश्वसनीयतालाई नै कमजोर बनाउने उनको भनाइ थियो।

‘स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर व्यापारी पोस्यो भन्ने खालका कुरा पनि सुनिए। सांसदहरूले आफ्नै गरिमा आफैँ जोगाउनुपर्छ। यो सदनको ओज घटाउने कामतिर हामी लाग्नु हुँदैन,’ उनले भने।

सरकार सुशासनको स्पष्ट एजेन्डा लिएर अघि बढेको र जनताले त्यसलाई अनुमोदन गरेको उल्लेख गर्दै उनले छोटो समयमै आफ्ना प्रतिबद्धताबाट विचलित हुने प्रश्नै नउठ्ने बताए।

अर्थमन्त्री वाग्लेले आफूविरुद्ध उठाइएका आरोप प्रमाणित भए पदमात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार रहेको घोषणा गरे।

‘दुई अर्ब होइन, दुई रुपैयाँ बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग्छु। सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु,’ उनले भने।

उनले आफूविरुद्ध आरोप लगाउनेहरूलाई लक्षित गर्दै नैतिकताको प्रश्न उठाएका थिए। ‘यो नैतिक आँट र उचाइ मप्रति औँला ठड्याउनेहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ छैनौँ, ती पनि खुल्दै जानेछन्,’ उनले भने।

पछिल्ला केही दिनयता आर्थिक विधेयकमा करका दर परिवर्तन, सूचना चुहावट तथा भन्सारसम्बन्धी विषयलाई लिएर अर्थमन्त्री वाग्ले आलोचनामा पर्दै आएका छन्। विपक्षी दलहरूले यस विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् भने अर्थमन्त्रीले लगातार रूपमा ती आरोपहरूको खण्डन गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *