एआईको लडाइँ अब चुनावी मैदानमा
काठमाडौं। कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी बहस अहिले अमेरिकी राजनीतिमा नयाँ मोडमा पुगेको छ। यस बहसको केन्द्रमा छन् न्युयोर्कका डेमोक्र्याटिक राजनीतिज्ञ एलेक्स बोरस, जो केही वर्षअघिसम्म प्रविधि कम्पनी पालान्टिरका इन्जिनियरका रूपमा कार्यरत थिए।
हाल न्युयोर्कको १२औँ कंग्रेसनल जिल्लाबाट अमेरिकी प्रतिनिधिसभाको निर्वाचन लडिरहेका बोरस आफूलाई शक्तिशाली प्रविधि कम्पनीहरूको निशानामा परेको दाबी गर्छन्। सामाजिक सञ्जालमा रहेको आफ्नो परिचयमा उनले आफूलाई ‘शक्तिशालीहरूसँग जुध्दै न्युयोर्कका लागि लडिरहेको’ व्यक्तिका रूपमा प्रस्तुत गरेका छन्।
आउँदो नोभेम्बरमा हुने निर्वाचनअघि बोरसविरुद्ध ठूला प्रविधि कम्पनीसँग सम्बन्धित राजनीतिक समितिहरू सक्रिय रूपमा लागिपरेका छन्। अमेरिकामा ‘पोलिटिकल एक्सन कमिटी’ (पीएसी) भनिने यस्ता समूहहरूले चुनावी अभियानमा ठूलो रकम खर्च गर्दै राजनीतिक प्रभाव विस्तार गर्ने गर्छन्।
सीएनएनसँगको अन्तर्वार्तामा बोरसले एआई उद्योगसँग सम्बन्धित लबिस्टहरूले आफूलाई पराजित गरेर एउटा राजनीतिक सन्देश दिन खोजिरहेको आरोप लगाएका छन्। उनका अनुसार एआई नियमनसम्बन्धी आफ्नो अडानका कारण उनी ठूला प्रविधि कम्पनीहरूको लक्ष्य बनेका हुन्।
बोरसले सन् २०२५ मा न्युयोर्कमा एआई नियमनसम्बन्धी ‘रेस्पोन्सिबल एआई सेफ्टी एन्ड एजुकेसन एक्ट’ पारित गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उक्त कानुनलाई एआई प्रणालीहरूको पारदर्शिता, उत्तरदायित्व र प्रयोगकर्ताको सुरक्षासँग जोडिएको महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
यही कानुनपछि एआई उद्योगभित्र मत विभाजन झन् स्पष्ट भएको देखिन्छ। बोरसविरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक सामग्री फैलाउने अभियानहरू सञ्चालन भएका छन्। विशेषगरी पालान्टिर र ओपनएआईसँग सम्बन्धित राजनीतिक समिति ‘लिडिङ द फ्युचर’ ले उनीविरुद्ध विज्ञापन अभियान सञ्चालन गरिरहेको बताइएको छ।
रोचक पक्ष के छ भने ती विज्ञापनहरूमा बोरसकै विगतलाई प्रयोग गरिएको छ। पालान्टिरमा काम गरेको अनुभवलाई आधार बनाएर उनी आप्रवासीविरोधी गतिविधिसँग जोडिएको आरोप लगाइएको छ। केही विज्ञापनमा अमेरिकी अध्यागमन निकाय आईसीईसँग पालान्टिरको सहकार्यलाई उल्लेख गर्दै बोरसको भूमिका विवादित बनाउन खोजिएको छ।
तर बोरसले भने आफ्नो विगत लुकाएका छैनन्। उनले पालान्टिरमा काम गरेको स्वीकार गर्दै कम्पनीले अमेरिकी अध्यागमन निकाय तथा इजरायली रक्षा मन्त्रालयसँग सहकार्य गरेको जानकारी पाएपछि आफूले त्यहाँको जागिर छाडेको बताएका छन्। उनका अनुसार सार्वजनिक हितका लागि काम गर्न र राजनीतिक क्षेत्रमा प्रवेश गर्न उनले उच्च आम्दानी दिने प्रविधि क्षेत्र छोडेका हुन्।
विश्लेषकहरूका अनुसार न्युयोर्कको यो निर्वाचन अहिले एआईसम्बन्धी राजनीतिक बहसको प्रमुख मैदान बनेको छ। पछिल्लो समय गरिएको एक मत सर्वेक्षणले अधिकांश अमेरिकी नागरिक एआईको प्रभाव र सम्भावित जोखिमबारे चासो राख्न थालेको देखाएको छ।
बोरसको भनाइमा एआई प्रविधिको सम्भावना र जोखिम दुवैबारे आफू जानकार भएकाले यसको जिम्मेवार नियमन आवश्यक छ। उनी एआईको पूर्ण विरोधी भने होइनन्। बरु राजनीतिक बहसको तयारी, कानुनी दस्तावेजहरूको अध्ययन तथा पुराना कानुनमा रहेका समस्याहरू पहिचान गर्न उनी आफैँ एआई उपकरणहरूको प्रयोग गर्ने गर्छन्।
सीएनएनसँग उनले भनेका छन्, ‘एआई अत्यन्त शक्तिशाली प्रविधि हो। त्यसैले यसको भविष्यबारे निर्णय केही अर्बपतिहरूको हातमा मात्र छोड्न मिल्दैन।’
बोरसविरुद्ध र पक्षमा दुवैतर्फबाट करोडौँ डलर खर्च भइरहेका छन्। जहाँ ओपनएआई र पालान्टिरसँग सम्बन्धित ‘लिडिङ द फ्युचर’ समूहले उनको पराजयका लागि अभियान चलाइरहेको छ, त्यहीँ अर्कोतर्फ एआई कम्पनी एन्थ्रोपिकसँग सम्बन्धित ‘पब्लिक फर्स्ट’ नामक राजनीतिक समितिले उनलाई समर्थन गरिरहेको छ।
‘क्लाउड’ एआई प्रणाली विकास गर्ने एन्थ्रोपिकसँग जोडिएको उक्त समितिले बोरसको पक्षमा लाखौँ डलर खर्च गरिसकेको सार्वजनिक विवरणमा उल्लेख छ।
न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार ‘लिडिङ द फ्युचर’ ले बोरसविरुद्ध करिब ४० लाख अमेरिकी डलर खर्च गरिसकेको छ भने ‘पब्लिक फर्स्ट’ ले उनको पक्षमा ३७ लाख डलरभन्दा बढी रकम परिचालन गरिसकेको छ।
यो सम्पूर्ण घटनाक्रमलाई विश्लेषण गर्दै न्युयोर्क टाइम्सका पत्रकार थियोडोर स्लेफरले एउटा रोचक तथ्य औँल्याएका छन्। उनका अनुसार चुनावी राजनीतिमा बगिरहेको यो ठूलो धनराशिको सबैभन्दा विडम्बनापूर्ण पक्ष के हो भने संघर्षरत दुवै पक्ष अन्ततः एआई प्रविधिकै विकास र विस्तार चाहन्छन्।
फरक केवल यति हो एआईको भविष्य कसले निर्धारण गर्ने, त्यसको नियमन कति कडा हुने र त्यसबाट सिर्जना हुने शक्ति कसको हातमा केन्द्रित हुने भन्ने प्रश्नमा उनीहरू एकअर्काविरुद्ध उभिएका छन्।
यसरी न्युयोर्कको एउटा निर्वाचन क्षेत्रको प्रतिस्पर्धा अब केवल सांसद छनोटको विषयमा सीमित नरही, एआई उद्योगको भविष्य, नियमन र राजनीतिक प्रभावको परीक्षणस्थलका रूपमा विकसित हुँदै गएको छ।
[अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार गरिएको]
