अर्थमन्त्रीले धम्की दिए : वर्षमान पुन(भिडियाे)
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्। शुक्रबार संसद बैठकमा बोल्दै प्रतिपक्षी सांसदहरूले अर्थमन्त्रीको भनाइलाई धम्कीपूर्ण र संसदीय मर्यादाविपरीत भएको बताएका हुन्।
नेकपाका सांसद वर्षामान पुनले अर्थमन्त्रीले संसद र संसदीय समितिको अवमूल्यन गरेको आरोप लगाउँदै उनीमाथि संसदीय छानबिन गर्न माग गरे। उनले आर्थिक विधेयकसँग सम्बन्धित विषयमा अर्थमन्त्रीले सातवटा करका दर परिवर्तन गरेको स्वीकार गर्नु गम्भीर विषय भएको दाबी गरे।
पुनले भने, ‘अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ । सातवटा करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभो । यो आर्थिक अपराध हो । उल्टो धम्की दिँदै मैले गरेकै हुँ भन्नुभएको छ । यसले मानहानी भएको छ । सभामुखबाट रुलिङ हुनुपर्छ । संसदीय छानबिन गरिनुपर्छ ।’
संसदमा बोल्दै पुनले अर्थमन्त्रीबाट समिति र संसदलाई धम्क्याउने प्रयास भएको भन्दै त्यसप्रति आफ्नो दलको गम्भीर आपत्ति रहेको बताए। उनले करका दर हेरफेर गरिएको स्वीकारोक्तिलाई आर्थिक अपराधको संज्ञा दिँदै सभामुखबाट रुलिङ हुनुपर्ने र संसदीय छानबिन अगाडि बढाउनुपर्ने माग गरे।
यसअघि आर्थिक विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई लक्ष्य गर्दै ‘तपाईंहरूको काण्डबारे पनि म अनभिज्ञ छैन, ती पनि खुल्नेछन्’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि संसदमा प्रतिपक्षी दलहरूले विरोध जनाएका छन्।
