`

बालेनको त्यो अभिव्यक्ति…सुस्तामा हतियारसहित एसएसबीको प्रवेश

Nepal One HD ३० जेठ २०८३ १२:५२
फिचर

काठमाडौं। गत जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा ‘नेपालले पनि भारतको भूमी मिचेको छ’ भन्ने अभिव्यक्ति दिए।

उनको अभिव्यक्तिले व्यापक रुपमा राजनीतिक र कुटनीतिक बहस छेडियो।

त्यसपछि संसदमा विवाद चर्किएको थियो भने विपक्षी दलहरूले उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेका थिए।

तर सरकारले भने परराष्ट्र मन्त्रालयमार्फत उक्त भनाइलाई स्पष्ट पार्दै कूटनीतिक दृष्टिले स्पष्टिकरण दियो।

तर प्रधानमन्त्री शाहले अभिव्यक्ति दिएको साँझ नै सुस्ताभारतीय एसएसबीको टोली सुस्ता गाउँपालिका-५ स्थित निर्माणस्थलमा पुग्यो। उनीहरूले तटबन्ध निर्माण रोक्न दबाब दिएपछि काम रोकियो।

उक्त घटना घटेको ११ दिन पछि सुस्ता क्षेत्रमा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गर्यो।

एसएसबी सुस्ता प्रवेश गरेपछि केही समयका लागि सुस्तामा स्थिति तनावपूर्ण बनेको थियो।

नदी तरेर हतियारसहित नेपाली भूमिमा प्रवेश गरेको एसएसबी टोलीलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर भारतीय भूमितर्फ फर्काए।

घटनापछि स्थानीय बासिन्दा, सुरक्षा निकाय र राजनीतिक वृत्तमा समेत यसको प्रभाव देखिएको छ।

प्रधानमन्त्री शाहको अभिव्यक्ति पछि नै यसप्रकारका घटना किन घटे ? अहिले सीमा क्षेत्रमा भएको यो घटनाले पुनः नेपाल-भारत सीमा व्यवस्थापन र सुरक्षासम्बन्धी संवेदनशीलता उजागर गरेको छ।

स्थानीय स्रोतका अनुसार शुक्रवार बिहान एसएसबीको एक टोली सुस्ता नदी तरेर नेपाली भूमिमा प्रवेश गरेको थियो। गस्तीका क्रममा पानी परेका कारण बाटो भुलेर प्रवेश भएको दाबी भारतीय पक्षले गरेको बताइन्छ।

तर स्थानीय बासिन्दाले उक्त प्रवेशलाई ‘सीमा उल्लंघन’ भन्दै तत्काल विरोध जनाएका थिए। सुरुमा एसएसबी टोलीले स्थानीयको आग्रहलाई बेवास्ता गरेको र पछि अवस्था तनावपूर्ण बनेको बताइएको छ।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि स्थानीय बासिन्दा लाठा-भाटा लिएर प्रतिकारमा उत्रिएका थिए। स्थानीयको संख्या बढ्दै गएपछि एसएसबी टोली पछि हट्दै भारतीय भूमितर्फ फर्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटनाबारे जानकारी दिँदै पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी रामकुमार केसीले एसएसबी गस्तीका क्रममा अनायास नेपालतर्फ प्रवेश भएको बताएका छन्।

उनका अनुसार, बिहान गस्तीका क्रममा पानी परेका कारण भारतीय टोली नेपालतर्फ प्रवेश गरेको भन्ने बुझिएको छ। त्यही बेला स्थानीयले विरोध जनाएका हुन्। केही समयपछि अवस्था सामान्य भएको छ।

यसैबीच सीमा सुरक्षा हेर्ने सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले पनि घटनापछि भारतीय पक्षसँग छलफल भइरहेको जनाएको छ।

एपीएफका एक अधिकारीले जानकारी दिँदै भारतीय सुरक्षा बलका केही सदस्य नेपाली सीमाभित्र प्रवेश गरेको देखिएको र त्यसबारे कारण पत्ता लगाउन छलफल भइरहेको बताए।

घटनापछि केही समय सुस्ता क्षेत्रमा तनावपूर्ण वातावरण बनेको थियो। स्थानीय बासिन्दाको विरोधपछि एसएसबी टोली फर्किएपछि स्थिति सामान्य बनेको सुरक्षा स्रोतले जनाएको छ।

तर घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षासम्बन्धी संवेदनशीलता पुनः सतहमा ल्याएको छ। स्थानीयले बारम्बार हुने यस्ता घटनाले आफूहरू त्रासमा बस्न बाध्य भएको गुनासो गरेका छन्।

सुस्ताको घटनाले शुक्रवार संसदसम्म प्रभाव पारेको पर्यो। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले आकस्मिक रूपमा विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए।

नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले घटनाप्रति सरकारको भूमिका कमजोर रहेको आरोप लगाउँदै भने, सुस्तामा भारतीय सुरक्षा बल नेपाल प्रवेश गरेर ठूलो समस्या सिर्जना गरेको र स्थानीयले प्रतिकार गरेको बताए।

उनका अनुसार, सीमा सुरक्षा केवल प्रतिपक्षको विषय नभई राष्ट्रिय विषय हो र सरकार गम्भीर हुनुपर्ने आवश्यकता छ।

यस्तै, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले पनि संसदमा प्रश्न उठाउँदै सीमा सुरक्षाबारे सरकार गम्भीर नभएको टिप्पणी गरेका छन्।

उनले सरकारको ध्यानाकर्षण गराउँदै रक्षामन्त्रीको भूमिका स्पष्ट हुनुपर्ने बताएका छन्।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले घटनापछि कूटनीतिक माध्यममार्फत समाधान खोजिने बताएका छन्।

उनले जानकारी दिँदै भने, सुस्तामा बस्ने नेपाली नागरिकहरूले पहिलेदेखि नै आफ्नो भूमिको रक्षा गर्दै आएको उल्लेख गर्दै उनीहरूलाई सम्मान गर्नुपर्ने बताए। साथै, यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने उनले बताए।

घटनासँगै राजनीतिक आरोप-प्रत्यारोप पनि तीव्र बनेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेनले केही दिनअघि संसदमा दिएको अभिव्यक्तिपछि सीमा क्षेत्रमा एसएसबीको गतिविधि बढेको दाबी गरेका छन्।

नेपाल-भारत सीमा निर्धारण ऐतिहासिक रूपमा सुगौली सन्धि (१८१६) र त्यसपछिका पूरक सम्झौताहरूका आधारमा भएको मानिन्छ। तर सुस्ता क्षेत्रमा नदीको धार परिवर्तन, भू-अधिकारको व्याख्या र प्रशासनिक नियन्त्रणको विषयमा विवाद रहँदै आएको छ।

नेपाल-भारतबीच करिब १,८८० किलोमिटर लामो सीमा रहेको छ। जसमा अधिकांश भाग व्यवस्थित भए पनि सुस्ता र कालापानी–लिम्पियाधुरा क्षेत्र अझै विवादित छन्।

स्तामा भएको पछिल्लो घटनाले सीमा क्षेत्रमा बारम्बार देखिने संवेदनशीलता, स्थानीय जनताको प्रत्यक्ष प्रतिकार र राज्यको कूटनीतिक चुनौतीलाई पुनः उजागर गरेको छ।

यद्यपि तत्कालका लागि स्थिति नियन्त्रणमा आएको भनिए पनि दीर्घकालीन समाधानका लागि नेपाल-भारतबीच प्रभावकारी कूटनीतिक संयन्त्र अझ मजबुत बनाउनुपर्ने आवश्यकता विश्लेषकहरूले औंल्याएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *