`

रास्वपा लुम्बिनी सभापतिमा शालिकराम घिमिरे

Nepal One HD ३१ जेठ २०८३ ११:१८
प्रमुख खबर

बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश समितिको सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। उनी यसअघि प्रदेश समितिको उपसभापतिको जिम्मेवारीमा रहेका थिए।

प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार राति सम्पन्न मतदानको मतगणना शनिबार बिहान सकिएको थियो। सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भए पनि कसैले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि सर्वाधिक मत ल्याएका शालिकराम घिमिरे र गोपाल घिमिरेबीच दोस्रो चरणको मतदान हुने तयारी गरिएको थियो। तर अन्ततः सहमतिमार्फत शालिकराम सभापतिमा निर्वाचित भएका निर्वाचन समिति सदस्य गुनाराम घिमिरेले जानकारी दिए।

पहिलो चरणको मतदानमा शालिकराम घिमिरेले सर्वाधिक १९९ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याएका थिए। त्यसैगरी गणेश पौडेलले ८४, डा. राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१ तथा मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए। निर्वाचनमा कुल ५५२ मत खसेको थियो।

निर्वाचित सभापति शालिकराम घिमिरेलाई पार्टी सभापति रवि लामिछाने निकट मानिन्छ भने प्रतिस्पर्धी गोपाल घिमिरे काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) समर्थक समूहसँग निकट रहेको बताइएको छ। दुवै पक्षबाट तीन–तीन जना उम्मेदवार मैदानमा उत्रिएका थिए।

निर्वाचन परिणामले रवि पक्षको प्रभाव प्रदेश नेतृत्वमा बलियो देखिएको विश्लेषण गरिएको छ। बालेन पक्षका उम्मेदवारमध्ये गोपाल घिमिरेले तुलनात्मक रूपमा बढी मत प्राप्त गरे पनि मञ्जु भुसाल र मधुप्रसाद अर्यालले क्रमशः ७१ र १९ मत मात्र प्राप्त गरेका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *