`

भारतले चिया निर्यातमा रोक लगाउँदा नेपालका ८३ उद्योग बन्द

Nepal One HD १ असार २०८३ १२:४१
अर्थ समाचार

काठमाडौं। भारतले चिया निर्यातमा रोक लगाउँदा नेपालका ८३ चिया उद्योग बन्द भएको विषय प्रतिनिधिसभामा उठेको छ ।

नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सोमबार संसद्को आकस्मिक समयमा बोल्दै चिया उद्योग ठप्प हुँदा हजारौँ श्रमिकको रोजगारी संकटमा परेको विषय उठाएका हुन् ।

उनका अनुसार नेपालमा उत्पादन भएको करिब ३ लाख किलो चिया भारततर्फ निर्यात हुन नसकेर रोकिएको छ भने थप ७ लाख किलो चिया उद्योगका गोदाममै थन्किएको अवस्था छ ।

निर्यात अवरोधका कारण चिया फ्याक्ट्रीमा कार्यरत मजदुरसँगै चिया टिप्ने श्रमिकहरूको समेत रोजगारी गुमेको सांसद केरुङले बताए । उनले तत्काल समस्या समाधान नगरे उद्योग क्षेत्र थप संकटमा पर्ने चेतावनी दिए ।

सांसद केरुङले समस्या समाधानका लागि सरकारलाई भारतसँग सरकारी–स्तरीय (जिटुजी) सम्झौता गरी निर्यात सहज बनाउन आग्रह गरे ।

चिया नेपालको प्रमुख नगदेबालीमध्ये एक हो । पछिल्ला वर्षहरूमा निर्यात बजारमा देखिएको अस्थिरताले उद्योगी तथा श्रमिक दुवै प्रभावित हुँदै आएको भन्दै संसद्मा बारम्बार यस्ता विषय उठ्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *