विनियोजन विधेयक, २०८३ माथि प्रतिनिधिसभामा छलफल सुरु
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ माथिको समूहीकृत छलफल प्रारम्भ भएको छ । सोमबार बसेको बैठकमा विभिन्न ११ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल सुरु गरिएको हो ।
बैठकमा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची छ ।
सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा शून्य र विशेष समय नराखिएको जानकारी दिँदै खर्च कटौतीको प्रस्ताव राख्ने सांसदहरूलाई सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमै भाग लिन समय उपलब्ध गराइएको बताए ।
बैठकमा हालसम्म सांसद कृपाराम राना र पार्वती विकले आ–आफ्ना धारणा राखिसकेका छन् । त्यसपछि जोगकुमार बरबरिया, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल र एशुदाकुमारी बराललगायत सांसदहरूले विभिन्न मन्त्रालयका शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव राख्दै बहस गर्ने कार्यसूची रहेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको थियो । बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीको जवाफ प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ ।
यसअघि बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभाअन्तर्गतका विभिन्न विषयगत समितिमा सदस्य हेरफेरसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो ।
