स्मार्ट ललितपुर : ‘ई-चलान’ सुरु, तत्कालै भुक्तानी गर्न मिल्ने
ललितपुर। ललितपुर महानगरपालिकाले विभिन्न नियम उल्लंघनबापत लाग्ने जरिवाना डिजिटल माध्यमबाट तत्कालै भुक्तानी गर्न सकिने गरी ‘ई–चलान’ प्रणाली सञ्चालनमा ल्याएको छ।
महानगरभित्र जथाभावी पार्किङ गर्ने, फोहरमैला फाल्ने, सार्वजनिक सम्पत्ति तथा बोटबिरुवामा क्षति पुर्याउनेलगायत कार्यमा कारबाही गरिएका व्यक्तिले अब क्युआर कोडमार्फत सजिलै जरिवाना तिर्न सक्नेछन्।
महानगर प्रमुख चिरीबाबु महर्जनका अनुसार महानगरले निषेध गरेका गतिविधिबापतको जरिवाना सहज र छिटो रूपमा संकलन गर्न क्युआर कोडसहितको ई–चलान प्रणाली लागू गरिएको हो।
उनले महानगरलाई प्रविधिमैत्री र सेवामुखी बनाउने उद्देश्यका साथ डिजिटल सेवाको विस्तार गर्दै ई–चलान प्रणाली सञ्चालनमा ल्याइएको बताए।
महर्जनका अनुसार नयाँ प्रणाली कार्यान्वयनमा आएपछि जरिवाना तिर्नका लागि महानगरपालिकाको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको छ। यसबाट सेवाग्राहीको समय बचत हुनुका साथै राजस्व संकलन प्रक्रियासमेत थप व्यवस्थित र पारदर्शी हुने अपेक्षा गरिएको छ।
