मन्त्री उपस्थित नभएको भन्दै राजेन्द्र राईको विरोध, संसद् बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सम्बन्धित मन्त्री अनुपस्थित रहेको विषय उठाउँदै सांसद राजेन्द्र राईले रोष्ट्रममा अडान लिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफल चलिरहेका बेला राईले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री अनिवार्य रूपमा उपस्थित हुनुपर्ने माग गरे। उनले मन्त्री अनुपस्थित रहँदा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ कसले दिने भन्दै आपत्ति जनाए।
रोष्ट्रमबाट बोल्ने क्रममा राईले सम्बन्धित मन्त्री बैठक कक्षमा नआएसम्म आफू रोष्ट्रम नछाड्ने अडान लिए। उनको विरोधपछि केही समय संसद्मा अवरोध सिर्जना भएको थियो।
सभामुखले सांसद राईलाई आफ्नो धारणा राखेर स्थान ग्रहण गर्न आग्रह गरे पनि उनले मन्त्री उपस्थित नभएसम्म नबस्ने अडान दोहोर्याएका थिए। त्यसपछि संसद्मा देखिएको अवरोध हटाउन सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
संसद् सचिवालयका अनुसार स्थगित अवधि पछि बैठक पुनः सञ्चालन गर्ने तयारी गरिएको छ। विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथि प्रतिनिधिसभामा छलफल जारी रहेको छ।
