`

गण्डकीको बजेट : ३२ अर्ब ९९ करोड ९९ लाख

Nepal One HD १ असार २०८३ १७:३५
अर्थ समाचार

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेशसभा बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ अर्थात् ३८.५६ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ अर्थात् ६०.६८ प्रतिशत छुट्याइएको छ। वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ अर्थात् कुल बजेटको ०.७६ प्रतिशत विनियोजन गरिएको मन्त्री शेरचनले जानकारी दिए।

उनका अनुसार चालु खर्चको हिस्सा चालु आर्थिक वर्षको तुलनामा करिब एक प्रतिशतले घटाइएको छ। प्रदेश सरकारले आगामी वर्ष पनि विकास निर्माण तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै पुँजीगत खर्चलाई उच्च हिस्सा दिएको छ।

बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनबारे जानकारी दिँदै मन्त्री शेरचनले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानस्वरूप ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार रुपैयाँ तथा रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको बताए।

त्यस्तै, सशर्त अनुदानमार्फत ३ अर्ब ९३ करोड ३ लाख रुपैयाँ, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख रुपैयाँ तथा विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रदेश सरकारले आन्तरिक राजस्व परिचालनमार्फत ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। साथै चालु आर्थिक वर्षको बजेट कार्यान्वयनपछि करिब २ अर्ब रुपैयाँ मौज्दात रहने अनुमान गरिएको छ।

मन्त्री शेरचनका अनुसार बजेट स्रोतमा देखिएको न्यूनता पूर्ति गर्न आगामी आर्थिक वर्षमा १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण उठाइनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *