कोशीको बजेट : ४० अर्ब ४४ करोड
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले सोमबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै यो रकम गत आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी रहेको जानकारी दिए।
प्रस्तावित बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ छुट्याइएको छ। कुल बजेटमा पुँजीगत खर्चको हिस्सा ५१.३२ प्रतिशत तथा चालु खर्चको हिस्सा ३४.५५ प्रतिशत रहेको छ। यस्तै वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री लिङ्थेपले बताए।
बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनबारे जानकारी दिँदै उनले आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बताए। त्यसैगरी राजस्व बाँडफाँटमार्फत १२ अर्ब ८७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ अर्ब १२ करोड रुपैयाँ, सशर्त अनुदान ५ अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदान ६४ करोड रुपैयाँ तथा विशेष अनुदान ५५ करोड रुपैयाँ रहने अपेक्षा गरिएको छ। साथै रोयल्टी बाँडफाँटबाट ४१ करोड रुपैयाँ र सोझै भुक्तानीमार्फत २० करोड रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ।
बजेटको बाँकी अपुग रकम करिब ५ अर्ब रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिने मन्त्री लिङ्थेपले जानकारी दिए।
