`

बागमतीमा भौतिक पूर्वाधार विकासका लागि २५ अर्ब ६० करोड बजेट विनियोजन

Nepal One HD १ असार २०८३ १८:०७
अर्थ समाचार

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सोमबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत रहेका सडक परियोजनाका लागि मात्रै ७ अर्ब १० करोड रुपैयाँ छुट्याइएको जानकारी दिए।

उनले विगतदेखि सञ्चालनमा रहेका पूर्वाधार विकास आयोजनाहरूलाई सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको तथा स्रोत सुनिश्चिततासमेत गरिएको बताए। प्रदेश सरकारले अधुरा तथा बहुवर्षीय आयोजनालाई निरन्तरता दिँदै विकास निर्माणका कामलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

मन्त्री तामाङका अनुसार काठमाडौं उपत्यकामा बढ्दो जनघनत्व र यातायात चाप व्यवस्थापनका लागि संघीय सरकारसँगको समन्वयमा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरिनेछ। साथै भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि समेत बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले सडक सञ्जाल विस्तार, यातायात पूर्वाधार सुधार तथा दीर्घकालीन रणनीतिक परियोजनालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *