राजेन्द्र राई सोध्छन्, ‘ बाँदर नियन्त्रणको लागि बजेट खोइ ?’
काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदर नियन्त्रणका लागि कुनै व्यवस्था नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै सांसद राईले कृषिमा ठूलो क्षति पुर्याइरहेको बाँदर समस्याको समाधानका लागि सरकारले ठोस कार्यक्रम र बजेट व्यवस्था गर्नुपर्ने बताए।
उनले बजेटमा पुराना राजनीतिक दलहरूले विगतकै शैलीलाई निरन्तरता दिएको टिप्पणी गर्दै आफूलाई नयाँ भन्ने राजनीतिक शक्तिहरूले भने बजेटमार्फत नयाँपन र परिवर्तनको अनुभूति गराउनुपर्ने धारणा राखे।
सांसद राईले विकास निर्माणतर्फ विनियोजित बजेट अपेक्षाभन्दा कम रहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले जनताको प्रत्यक्ष सरोकारका क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको उल्लेख गर्दै विकास बजेट बढाउन सरकारलाई आग्रह गरे।
