कर्णालीमा पर्यटन, उद्योग-पर्यटन मन्त्रालयलाई २ अर्ब ४६ करोड बजेट
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत २ अर्ब ४६ करोड ४९ लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि ५३ करोड ८२ लाख रुपैयाँ छुट्याइएको जानकारी दिए।
पर्यटन पूर्वाधार विस्तारका लागि मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, सल्यानको कुपिण्डे दह तथा रुकुमपश्चिमको स्यार्पु ताल क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्न २१ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए। साथै सुर्खेत विमानस्थल विस्तार परियोजनाका लागि ५ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
वन तथा वातावरण क्षेत्रतर्फ जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलन कार्यक्रम सञ्चालन गर्न २० करोड ९० लाख रुपैयाँ छुट्याइएको छ। यस्तै जलाधार क्षेत्र संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका लागि २७ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री शाहले जानकारी दिए।
उद्योग तथा उद्यमशीलता विकासलाई प्रोत्साहन गर्न युवा स्टार्टअप कार्यक्रमका लागि ४ करोड १० लाख रुपैयाँ बजेट राखिएको छ। त्यसैगरी उद्यमशीलता तथा सीप विकास कार्यक्रमका लागि २ करोड रुपैयाँ र साना उद्योग प्रवर्द्धनका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।
बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयतर्फ २ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, सहकारी क्षेत्रको सुदृढीकरण तथा भूमि व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट व्यवस्था गरेको जनाएको छ।
