रास्वपा नेता सिंहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महरको माग
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि धनगढीमा भएको साङ्घातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले असार १ गते राति रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशनबाट घर फर्किने क्रममा धनगढीमा सिंहमाथि योजनाबद्ध रूपमा आक्रमण भएको बताए। उनका अनुसार ७–८ जनाको समूहले सिंहलाई लक्षित गर्दै कुटपिट गरेको थियो।
महरले आक्रमणका क्रममा सिंहसँग रहेका ल्यापटप, मोबाइल फोन, घडी, सिक्रीलगायतका बहुमूल्य सामानसमेत लुटिएको जानकारी गराउँदै घटनाको निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए।
सिंह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बझाङबाट रास्वपाका उम्मेदवारसमेत रहेका थिए। महरले राजनीतिक गतिविधिमा संलग्न व्यक्तिमाथि भएको यस्तो आक्रमण गम्भीर विषय भएकाले दोषीलाई कानुनको दायरामा ल्याउन ढिलाइ गर्न नहुने बताए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
