एआई र रोबोटिक्समा नेपालीको अन्तरराष्ट्रिय सफलता
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र कोडिङ क्षेत्रमा नेपाली विद्यार्थीले अन्तरराष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेका छन्। इन्डोनेसियाको राजधानी जाकार्तामा सम्पन्न विश्वस्तरीय प्रतियोगितामा नेपालका सहभागी टोलीहरूले विभिन्न विधामा पुरस्कार जित्दै देशको गौरव बढाएका हुन्।
७० भन्दा बढी राष्ट्रका विद्यार्थी सहभागी रहेको उक्त प्रतिस्पर्धामा नेपालबाट सहभागी ६ टोलीले पुरस्कार जित्न सफल भएका छन् भने थप ३ टोली उत्कृष्ट ३० भित्र स्थान बनाउन सफल भएका छन्। करिब १,५०० विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा नेपाली विद्यार्थीहरूले प्रस्तुत गरेका परियोजनाहरूले अन्तरराष्ट्रिय ध्यान आकर्षित गरेको आयोजकले जनाएको छ।
विद्यार्थीहरूले वायु प्रदूषण नियन्त्रण, स्वच्छ खानेपानी, आधुनिक कृषि प्रविधि र औषधि व्यवस्थापनजस्ता संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यसँग सम्बन्धित विषयमा आधारित नवप्रवर्तनात्मक परियोजनाहरू प्रस्तुत गरेका थिए। व्यावहारिक समस्या समाधानमा केन्द्रित यी सिर्जनात्मक विचारहरूले नै नेपाली टोलीलाई सफलता दिलाएको हो।
नेपालबाट विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराउने जिम्मा सूचना प्रविधि क्षेत्रमा सक्रिय नीमा एजुकेसन फाउन्डेसनले लिएको थियो। फाउन्डेसनले विभिन्न विद्यालयसँग सहकार्य गर्दै ८ देखि १८ वर्ष उमेर समूहका ९८ विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराएको जनाएको छ।
प्रतियोगिताबाट फर्किएका विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्न काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा तथा सूचना प्रविधि क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका आइटी विभाग प्रमुख प्राध्यापक डा. सुदन झाले विश्व सूचना प्रविधि तीव्र गतिमा नयाँ चरणमा प्रवेश गरिरहेको उल्लेख गर्दै एआई, रोबोटिक्स र कोडिङ अहिलेको पुस्ताका लागि अनिवार्य सीप बन्दै गएको बताए। उनले विद्यालय तहदेखि नै प्रविधिमैत्री शिक्षा प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।
यस्तै, फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधान र निर्देशक किरणकुमार श्रेष्ठले नेपालमा प्रविधिमैत्री जनशक्ति विकासका लागि विद्यालय तथा कलेजसँग सहकार्य गर्दै नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनीहरूले आगामी वर्षको प्रतियोगितामा नेपालको प्रदर्शन अझ सशक्त बनाउने लक्ष्यसहित नयाँ नवप्रवर्तनात्मक कार्यक्रम अघि बढाइने पनि बताए।
नेपाली विद्यार्थीको यो उपलब्धिलाई सूचना प्रविधि क्षेत्रमा देशको बढ्दो सम्भावना र अन्तरराष्ट्रिय प्रतिस्पर्धामा युवाहरूको क्षमताको सकारात्मक संकेतका रूपमा हेरिएको छ।
