सभामुखले सांसदलाई आकर्षित हुन भनेको नियम २१ मा के छ ?
काठमाडौं । सभामुख डिपी अर्यालले कांग्रेस सांसद चन्द्रमोहन यादवलाई प्रतिनिधिसभा नियमावली, २०८३ को नियम २१ तर्फ आकर्षित हुन निर्देशित गरे।
यसअघि रास्वपा सांसद गणेश कार्कीले यादवले नियमावली उल्लङ्घन गरेको भन्दै नियमापत्ति गरेका थिए। यादवले बैठकमा बोल्ने क्रममा सभामुखको कार्यशैलीमाथि प्रश्न उठाउँदै आलोचना गरेका थिए।
के छ नियम २१ मा ?
प्रतिनिधिसभा तथा अन्य संसदीय बैठकमा छलफलमा भाग लिने सदस्यहरूले निश्चित आचरण र नियमहरूको पालना गर्नुपर्ने व्यवस्था रहेको छ। संसदीय नियमावलीअनुसार कुनै सदस्यले बोल्नुअघि सभामुखको ध्यानाकर्षण गराउन उठ्नुपर्ने र सभामुखले नाम बोलाएपछि वा संकेत गरेपछि मात्र बोल्न पाउने व्यवस्था छ।
त्यस्तै, सभामुखले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्तावमाथिको छलफल बाहेक सभामुखको आचरणको आलोचना गर्न नपाइने उल्लेख गरिएको छ। संविधानको धारा १०५ ले बहसमा बन्देज लगाएका विषयमा छलफल गर्न पनि निषेध गरिएको छ।
नियमावलीमा अशिष्ट, अपमानजनक, आपत्तिजनक तथा सार्वजनिक शिष्टाचार र नैतिकताविपरीत हुने शब्द प्रयोग गर्न नहुने व्यवस्था छ। साथै कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने अभिव्यक्ति दिन तथा असंसदीय शब्द प्रयोग गर्न पनि रोक लगाइएको छ।
यसैगरी, बोल्न पाउने अधिकारलाई सदनको कामकारबाही अवरुद्ध गर्ने वा बाधा पुर्याउने उद्देश्यले दुरुपयोग गर्न नहुने व्यवस्था नियमावलीमा गरिएको छ।

