प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने एमालेको माग
काठमाडौं । नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य लक्ष्मी प्रसाद पोखरेलले प्रधानमन्त्रीले संसदमा दिएको ‘नेपालले पनि भारतीय भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त भनाइ तथ्य, प्रमाण र ऐतिहासिक नक्सासँग मेल नखाने दाबी गर्दै प्रधानमन्त्रीले स्पष्टिकरण दिनुपर्ने वा संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पोखरेलले सुगौली सन्धि (१८१६) पछि जारी भएका विभिन्न ऐतिहासिक नक्साहरूले नेपालले भारतको भूमि अतिक्रमण गरेको कतै पनि पुष्टि नगर्ने बताएका छन्। उनका अनुसार सन् १८१९, १८२१, १८२७ र १८५६ का नक्साहरूले बरु लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका क्षेत्र नेपालको भूभाग भएको देखाउँछन्।
‘जुन नक्सा जताबाट हेरे पनि नेपालले भारतको जग्गा मिचेको देखिँदैन। तर प्रधानमन्त्रीले हामीले नै जग्गा मिचेको छ भन्नुभयो। त्यो सरासर तथ्यगत रूपमा गलत छ,’ उनले भने।
पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्ति ऐतिहासिक दस्तावेज र प्रमाणसँग मेल नखाने दाबी गर्दै सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए। “कि प्रधानमन्त्रीले आफ्नो भनाइबारे स्पष्टिकरण दिनुपर्छ, होइन भने संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्छ,” उनले माग गरे।
सांसद पोखरेलले नेपालका विभिन्न सीमा क्षेत्रमा भारतद्वारा अतिक्रमण भएको दाबी गर्दै करिब ६० हजार ६ सय ७८ हेक्टर नेपाली भूमि भारतले मिचेको दाबीसमेत गरे। उनले सीमा सम्बन्धी विषयमा सरकार स्पष्ट र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए।
