`

मन्त्रीहरूले संसदीय मर्यादा उल्लङ्घन गरेको भन्दै एमालेको आपत्ति[भिडियाे]

Nepal One HD ४ असार २०८३ ११:५२
नेकपा एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकका क्रममा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावली उल्लङ्घन गरेको भन्दै कडा आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा नियमापत्ति उठाउँदै एमाले प्रमुख सचेतक ऐन महरले मन्त्रीहरूको व्यवहारले संसद्को गरिमा र मर्यादामा आँच पुगेको बताएका हुन्। उनले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम २० को उपनियम (६) बमोजिम नियमापत्ति जनाएका थिए।

उक्त व्यवस्थाअनुसार सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न नपाइने स्पष्ट प्रावधान रहेको छ। तर आकस्मिक समयमा नेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले आफ्नो धारणा राखिरहेका बेला दुई जना मन्त्री सभामुखको आसन र बोलिरहेका सांसदबीचबाट हिँडेको भन्दै महरले आपत्ति जनाए।

‘मन्त्रीज्यूहरू सरासर हिँडिरहनुभएको छ, यो नियम २० को खण्ड ६ विपरीत छ। संसद्को गरिमा र मर्यादा कायम राख्नु हामी सबैको जिम्मेवारी हो, तर सरकारको त झन् बढी जिम्मेवारी हुन्छ,’ महरले बैठकमा भने।

उनले मन्त्रीहरूबाटै संसदीय नियमावलीको उल्लङ्घन हुनु दुःखद भएको टिप्पणी गर्दै यस घटनाप्रति घोर आपत्ति र निन्दा व्यक्त गरे। साथै, संसद्को मर्यादा कायम राख्न सभामुखले यस विषयमा स्पष्ट रुलिङ गर्नुपर्ने माग पनि गरे।

‘मन्त्रीज्यूहरूले नियमावलीको धज्जी उडाउनुभएको छ। यस विषयमा सभामुखको ध्यानाकर्षण होस् र आवश्यक रुलिङ गरियोस्,’ महरले आग्रह गरे।

एमालेले मन्त्रीहरूको उक्त व्यवहारले संसदीय अभ्यास र मर्यादामाथि प्रश्न उठाएको भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सभामुखको हस्तक्षेप आवश्यक रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *