रास्वपा महाधिवेशन : सहमहामन्त्रीको दौडमा को को छन् ?[भिडियो]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महामन्त्री मात्र होइन, चार सदस्यीय सह-महामन्त्री पदका लागि पनि प्रतिस्पर्धा हुने संकेत देखिएको छ। प्रस्तावित विधानअनुसार चार सह-महामन्त्रीमध्ये कम्तीमा एक जना महिला अनिवार्य रहने व्यवस्था गरिएको छ।
महिला कोटातर्फ क्रान्तिशिखा धिताल, टीका संग्रौला (ज्वाला) र कुसुम महर्जनको नाम चर्चामा छ। तीनै जना पार्टीभित्र विभिन्न तहमा सक्रिय रहँदै आएका नेतृ हुन्। महिला नेतृत्वको प्रतिनिधित्व र संगठनमा योगदानका आधारमा उनीहरूलाई सम्भावित दाबेदारका रूपमा हेरिएको छ।
खुलातर्फ भने प्रतिस्पर्धा अझ रोचक बन्ने देखिएको छ। रमेश प्रसाईं, रोहन कार्की, प्रकाशचन्द्र परियार, खगेन्द्र सुनार तथा सागर ढकालको नाम सह-महामन्त्रीका सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेको छ। संगठन निर्माण, जनसम्पर्क र पार्टी गतिविधिमा सक्रियताका आधारमा उनीहरूले आफ्नो दाबी प्रस्तुत गर्न सक्ने अपेक्षा गरिएको छ।
यसैबीच सांसद तथा पार्टीकी सक्रिय नेतृ निशा डाँगी पनि पदाधिकारी बन्ने आकांक्षीका रूपमा हेरिएकी छन्। तर उनले कुन पदमा उम्मेदवारी दिने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
प्रस्तावित विधानअनुसार महाधिवेशनको पहिलो चरणमा सभापतिसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री र सह–महामन्त्रीलगायतका पदाधिकारी चयन गरिने व्यवस्था छ। दुवै चरणमा महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।
यता प्रवक्ता, तीन सह–प्रवक्ता, कोषाध्यक्ष र सह–कोषाध्यक्ष पद भने निर्वाचनबाट नभई सभापतिले मनोनयन गर्ने व्यवस्था प्रस्तावित विधानमा गरिएको छ। यसले महाधिवेशनपछि पनि नेतृत्व चयनको महत्वपूर्ण अधिकार सभापतिसँग रहने संकेत गरेको छ।
