‘रोनाल्डिन्हो’ फेरि मैदानमा उत्रदै
काठमाडौं। ब्राजिलका विश्वप्रसिद्ध फुटबलर रोनाल्डिन्हो फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्।
४६ वर्षको उमेरमा उनले इटालीको तेस्रो डिभिजन क्लब रेभेन्नासँग सम्झौता गरेपछि फुटबल समर्थक र विश्लेषकहरूबीच नयाँ चर्चा सुरु भएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार रोनाल्डिन्होले रेभेन्नासँग औपचारिक सम्झौता गरेका छन्। क्लबले सुरुमा उनको भूमिका मुख्यतः प्रचार-प्रसार, ब्रान्ड प्रवर्द्धन तथा मार्केटिङ गतिविधिमा केन्द्रित रहने जनाएको थियो।
तर पछिल्ला अभिव्यक्तिहरूले उनी मैदानमा पनि देखिन सक्ने सम्भावनालाई पूर्ण रूपमा नकारेका छैनन्। क्लबका उपाध्यक्ष अरिएदो ब्राइदाले रोनाल्डिन्होलाई ‘समयले नबुढ्याएको च्याम्पियन’ भन्दै आवश्यक परे खेलमा समेत सहभागी हुन सक्ने संकेत दिएका छन्।
सम्झौतापछि रोनाल्डिन्होले प्रतिक्रिया दिँदै ‘नयाँ रङ, उही मुस्कान’ भन्दै रेभेन्नासँग नयाँ अध्याय सुरु गर्न पाउँदा उत्साहित रहेको बताएका छन्। उनले फुटबल सधैं आफ्नो जीवनको खुसी र आनन्दको स्रोत रहेको उल्लेख गर्दै समर्थकहरूसँग नयाँ कथा लेख्न आतुर रहेको बताए।
सन् २००५ को बालोन डी’ओर विजेता रोनाल्डिन्हो विश्व फुटबल इतिहासका सबैभन्दा प्रतिभाशाली खेलाडीमध्ये एक मानिन्छन्। उनले बार्सिलोना, एसी मिलान र पेरिस सेन्ट–जर्मेनजस्ता प्रतिष्ठित क्लबहरूको प्रतिनिधित्व गरेका थिए। साथै उनले सन् २००२ को विश्वकपमा ब्राजिललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
रोनाल्डिन्होले अन्तिम पटक सन् २०१५ मा व्यावसायिक फुटबल खेलेका थिए। त्यसयता उनी विभिन्न प्रदर्शनी खेल, सामाजिक कार्यक्रम र फुटबल प्रवर्द्धनसम्बन्धी गतिविधिमा सक्रिय रहँदै आएका छन्।
क्लबले जुन २३ मा अमेरिकाको मियामीमा विशेष कार्यक्रम आयोजना गर्दै रोनाल्डिन्होलाई औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। उक्त कार्यक्रममा उनको वास्तविक भूमिका, क्लबसँगको सहकार्यको स्वरूप तथा मैदानमा उत्रिने सम्भावनाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
हालसम्म प्राप्त जानकारीअनुसार रोनाल्डिन्होको मुख्य जिम्मेवारी क्लबको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नु र व्यावसायिक प्रवर्द्धनमा योगदान पुर्याउनु रहने देखिएको छ।
यद्यपि उनी प्रतिस्पर्धात्मक खेलमा पुनः मैदान उत्रिने वा नउत्रिने विषय भने अझै खुल्न बाँकी छ।
