`

रास्वपा महाधिवेशन : प्रतिस्पर्धा घटाउन उम्मेदवारी शुल्क चर्को

Nepal One HD ७ असार २०८३ १६:२२
प्रमुख खबर

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा निर्धारण गरिएको उम्मेदवारी शुल्कप्रति असन्तुष्टि जनाएका छन्।

बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद थारुले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उम्मेदवारी शुल्क अत्यधिक राखेर प्रतिस्पर्धाबाट नेताहरूलाई निरुत्साहित गर्न खोजिएको आरोप लगाएका हुन्।

उनले पार्टीभित्र एक व्यक्तिको मात्र प्रभाव कायम राख्ने सोच हावी भएको संकेत गर्दै उम्मेदवारी शुल्कको व्यवस्थामाथि प्रश्न उठाएका छन्।

उनले लेखेका छन्, ‘रुपैयाँको डर देखाएर अरू चुनावमा नलडून भन्ने हो ? एक्लै पार्टीमा सबकुछ हुन्छु, गर्छु भन्ने भ्रम हो ? यो भ्रम हो भने भ्रम नपाले हुन्छ है। ऋण खोजेर पनि चुनाव लड्ने हो। बाँकी प्रेम छ।’

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको छ। असार ९ गतेसम्म चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी भएका छन् भने प्रधानमन्त्री बालेन्द्र साहसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पनि उद्घाटन सत्रमा उपस्थित भएका छन्।

महाधिवेशनका लागि रास्वपाले विभिन्न पदमा उम्मेदवारी दिने व्यक्तिका लागि शुल्क निर्धारण गरेको छ। पार्टीले सभापति पदका लागि ५१ हजार रुपैयाँ, पदाधिकारीका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको छ।

यही शुल्क व्यवस्थालाई लिएर पार्टीभित्र बहस सुरु भएको छ। केही नेता तथा कार्यकर्ताले शुल्क अत्यधिक रहेको टिप्पणी गरेका छन् भने आर्थिक रूपमा सक्षम व्यक्तिलाई मात्र प्रतिस्पर्धामा सहज हुने अवस्था सिर्जना हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

महाधिवेशनबाट रास्वपाले नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको छ। संशोधित विधानअनुसार १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ। उम्मेदवारी शुल्कको विषय भने महाधिवेशनकै सुरुवातमा पार्टीभित्र विवाद र चर्चा बन्न पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *