`

रास्वपा राष्ट्रिय राजनीतिमा कहाँ उभिन्छ ? -एमाले उपमहासचिव ज्ञवाली

Nepal One HD ७ असार २०८३ १७:२७
नेकपा एमाले

चितवन। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वैचारिक र राजनीतिक दिशा अहिले राष्ट्रिय बहसको विषय बनेको बताएका छन्।

चितवनको भरतपुरमा सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा राष्ट्रिय राजनीतिमा कुन स्थानमा उभिने भन्ने चासो आम नागरिकदेखि राजनीतिक वृत्तसम्म रहेको उल्लेख गरे।

उनले भने, ‘राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ। तपाईंहरू केन्द्रमा उभिनुस्, दायाँतर्फ जानुस् वा बायाँतर्फ ढल्किनुस्, त्यो ठूलो कुरा होइन। मुख्य कुरा गरिखाने जनताको पक्षमा काम गर्ने, उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने पार्टी बन्नु हो।’

ज्ञवालीले महाधिवेशनले केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको स्पष्ट वैचारिक आधार, नीति तथा भावी कार्यदिशा निर्धारण गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। उनले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिँदै आगामी नेतृत्वले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने धारणा राखे।

उनले नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपाले छोटो अवधिमै युवापुस्तालाई राजनीतिप्रति आकर्षित गर्न सफल भएको उल्लेख गर्दै यसबाट पुराना राजनीतिक दलहरूले पनि सिक्नुपर्ने बताए।

‘रास्वपाले युवाहरूलाई राजनीतिमा जोड्ने काम गरेको छ। यो सकारात्मक पक्ष हो। पुराना दलहरूले पनि यसबाट धेरै कुरा सिक्नुपर्छ,’ उनले भने।

ज्ञवालीले निर्वाचनमा प्राप्त जनमत र जनादेश आफैंमा अन्तिम उपलब्धि नभएको उल्लेख गर्दै त्यसलाई सही ढंगले संगठित, परिचालन र परिणाममुखी बनाउन सक्नु नै वास्तविक चुनौती भएको बताए।

उनले भने, ‘निर्वाचन जित्नु र जनमत प्राप्त गर्नु एउटा चरण मात्र हो। त्यसलाई व्यवस्थित रूपमा परिचालन गर्दै राष्ट्र निर्माणमा प्रयोग गर्न सक्नु अझ ठूलो जिम्मेवारी हो। जनादेश साधन हो, साध्य भनेको राष्ट्र निर्माण र देशको भविष्यको दिशा तय गर्नु हो।’

उनले नेपालका राजनीतिक दलहरूबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि सुशासन, विकास र जनजीविकासँग सम्बन्धित विषयमा साझा प्रतिबद्धता आवश्यक रहेको बताए। लोकतान्त्रिक प्रणालीमा जनताको विश्वास कायम राख्न राजनीतिक दलहरूले परिणाम दिने राजनीति गर्नुपर्ने उनको भनाइ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *