`

शंकर पाेखरेल के ‘माउ खाने नेता’ बन्लान् ?

Nepal One HD ७ असार २०८३ २०:१७
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा धेरै अवसर, संरक्षण र जिम्मेवारी दिएका नेताको नाम लिनुपर्दा शंकर पोखरेल अगाडि आउँछन्।

एमालेभित्र धेरै नेताहरूको बुझाइमा पोखरेलको राजनीतिक उचाइ जनताको मतभन्दा बढी ओलीको विश्वास र संरक्षणको परिणाम हो।

पोखरेलको निर्वाचन इतिहास हेर्दा पनि यही तर्कलाई बल पुग्ने एमालेभित्र चर्चा हुने गरेको छ।

२०५६, २०७०, २०७९ र २०८२ सालका प्रतिनिधिसभा निर्वाचनमा उनी प्रत्यक्षतर्फ विजयी हुन सकेनन्।

तीन दशकभन्दा बढी अवधिमा प्रत्यक्ष निर्वाचनबाट संसद् पुग्न नसक्दा उनको जनाधार र लोकप्रियतामाथि प्रश्न उठ्ने गरेको छ।

यद्यपि निर्वाचनमा लगातार असफल हुँदा पनि पार्टीभित्र उनको उकालो यात्रा भने रोकिएन। बरु अध्यक्ष ओलीले उनलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिँदै अघि बढाए।

एमालेभित्र प्रभावशाली र जनाधार भएका अन्य नेताहरू हुँदाहुँदै पनि ओलीले पोखरेललाई नै आफ्नो विश्वासपात्रका रूपमा स्थापित गरे।

त्यसकै परिणामस्वरूप उनी पार्टीको दोस्रो शक्तिशाली पद महासचिवमा एकपटक मात्र होइन, लगातार दोस्रो कार्यकालका लागि पनि पुग्न सफल भए।

गत महाधिवेशनमा पनि पोखरेलको स्थिति सहज नरहेको एमाले नेताहरू बताउँछन्। महासचिव पदका लागि प्रतिस्पर्धामा उनी ओली समूहका उम्मेदवार भए पनि तुलनात्मक रूपमा कमजोर अवस्थामा रहेको चर्चा थियो।

महाधिवेशनको मत परिणामले पनि उनी पदाधिकारीमध्ये सबैभन्दा कम मतान्तरले विजयी भएको देखाएको थियो। महासचिवका प्रत्याशी सुरेन्द्र पाण्डे ले ९९९ मत प्राप्त गर्दा पोखरेलले १२२८ मत ल्याएका थिए।

ओली प्यानलबाट निर्वाचित पदाधिकारीमध्ये सबैभन्दा कम मतान्तरको जित उनको नाममा रह्यो।

यही पृष्ठभूमिका कारण एमालेभित्र लामो समयदेखि एउटा टिप्पणी सुनिँदै आएको छ-‘शंकर पोखरेललाई जनताले होइन, ओलीले स्थापित गरेका हुन्।’

तर अहिले परिस्थिति फेरिएको देखिन्छ। एमाले सचिवालय बैठकदेखि विभिन्न आन्तरिक छलफलसम्म आइपुग्दा पोखरेल अध्यक्ष ओलीको विकल्प खोज्न सक्रिय देखिन थालेका छन्।

पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र नयाँ पुस्तालाई अवसर दिनुपर्ने बहसलाई अघि सार्दै उनी भविष्यको नेतृत्वका लागि आफूलाई तयार गरिरहेको चर्चा एमालेभित्र बढ्दो छ।

यस अभियानमा पोखरेललाई उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरूको साथ रहेको बताइन्छ।

हालैको सचिवालय बैठकमा पौडेल, पोखरेल, योगेश भट्टराई लगायतका नेताहरूले पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै नेतृत्वबारे नयाँ ढंगले सोच्नुपर्ने धारणा राखेका थिए।

यससँगै एमालेभित्र अर्को बहस पनि चर्किएको छ। आलोचकहरूको प्रश्न छ-यदि ओलीको संरक्षण, विश्वास र अवसर नपाएको भए शंकर पोखरेल आज एमालेको कुन तहमा हुन्थे ?

उनीहरूका अनुसार जसको राजनीतिक उचाइको आधार नै ओलीको भरोसा थियो, अहिले त्यही नेतृत्वलाई चुनौती दिनु राजनीतिक कृतघ्नताको उदाहरण हो।

नेकपा नेता गाेपाल किरातीकाे शब्दमा भन्दा त शङ्‍करले ‘माउ खाने नेता’काे छाँट देखाएका छन् ।

त्यसैले एमालेभित्र अहिलेको विवाद  नेतृत्व हस्तान्तरणको विषयमा मात्रै सीमित छैन। यो विश्वास, निष्ठा र राजनीतिक सम्बन्धको बहससमेत बनेको छ र त्यस बहसको केन्द्रमा महासचिव शंकर पोखरेल तथा उनलाई समर्थन गरिरहेका नेताहरू रहेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *