`

मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड

Nepal One HD ८ असार २०८३ १६:५९
अर्थ समाचार

मन्थली। रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार आयोजित नगरसभामा उपप्रमुख ईश्वरी बस्नेतले बजेट तथा वार्षिक कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास र पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिइन्।

नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी र सञ्चित कोषसमेत गरी करिब ९ करोड ७० लाख रुपैयाँ आन्तरिक स्रोत परिचालन हुने अनुमान गरिएको छ। स्थानीय स्रोतको परिचालनमार्फत विकास निर्माणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य नगरपालिकाले लिएको छ।

नगरसभामा प्रस्तुत प्रगति विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। उपप्रमुख बस्नेतले जेठ मसान्तसम्म चालुतर्फ ४७ करोड ९३ लाख रुपैयाँ र पुँजीगततर्फ ११ करोड १३ लाख रुपैयाँ गरी कुल ५९ करोड ७ लाख रुपैयाँ खर्च भएको जानकारी दिइन्। उक्त खर्च कुल बजेटको करिब ६० प्रतिशत रहेको उल्लेख गर्दै आर्थिक वर्षको अन्त्यसम्म कम्तीमा ८८ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको उनले बताइन्।

यसअघि नगरप्रमुख लब श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता तथा पर्यटन प्रवर्द्धनलाई विकासको प्रमुख आधारका रूपमा अघि सारिएको बताए।

शिक्षा क्षेत्रअन्तर्गत कक्षा ८ तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गरिने व्यवस्था गरिएको छ। यसका साथै विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थीलाई उत्कृष्ट नतिजातर्फ प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउन ‘नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ अभियान सञ्चालन गरिने भएको छ। योग शिक्षासहितको ‘नागरिक आरोग्य कार्यक्रम’लाई विस्तार गर्दै नगरपालिकाका सबै १४ वटै वडामा एक–एक योग केन्द्र स्थापना गर्ने योजना पनि अघि सारिएको छ। यसबाट समुदायस्तरमा स्वास्थ्य सचेतना र स्वस्थ जीवनशैली प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

कृषि क्षेत्रतर्फ रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ। किसान परिचयपत्र वितरण सुरु गरिने, स्थानीय कृषि उत्पादनको बजारीकरण काठमाडौंसम्म विस्तार गरिने तथा दूध उत्पादक कृषकलाई दिँदै आएको अनुदान कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

युवा तथा उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्दै लघु तथा घरेलु उद्योग प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने भएका छन्। नगरपालिकाले उद्योग स्थापना तथा विस्तारका लागि ५० प्रतिशत लागत साझेदारी गर्ने, युवा उद्यमीलाई प्रोत्साहन गर्ने तथा स्वरोजगारका अवसर सिर्जना गर्ने नीति लिएको जनाएको छ।

पर्यटन क्षेत्रको विकासका लागि प्रमुख पर्यटकीय गन्तव्यहरूको संरक्षण, स्थानीय संस्कृति र सम्पदाको प्रवर्द्धन तथा पर्यटन पूर्वाधार विकासमा जोड दिइने भएको छ। पर्यटकीय परामर्श कक्ष स्थापना गरिने र निर्माणाधीन फोहोर विसर्जन केन्द्रको काम सम्पन्न गर्ने प्रयासलाई पनि आगामी वर्ष निरन्तरता दिइने नगरप्रमुख श्रेष्ठले बताए।

नगरपालिकाले सार्वजनिक गरेको बजेट तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास र आधारभूत सेवा विस्तारलाई केन्द्रमा राख्दै समावेशी, दिगो र नागरिकमुखी विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।

स्थानीय स्रोत, उत्पादन र मानव पूँजीको उपयोगमार्फत नगरको समग्र आर्थिक तथा सामाजिक विकासलाई गति दिने लक्ष्यसहित बजेट ल्याइएको नगरपालिकाको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *