`

ऋण नतिर्दा लिलामीको मुखमा ‘भोटेकोशी हेली रिसोर्ट’

Nepal One HD ९ असार २०८३ १०:५४
अर्थ समाचार

काठमाडौं। पर्यटन प्रवर्द्धन र उच्चस्तरीय विदेशी पाहुनालाई लक्षित गर्दै सिन्धुपाल्चोकमा सञ्चालनमा ल्याइएको चारतारे भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिलामी प्रक्रियामा पुगेको छ।

सञ्चालकहरूबीचको आन्तरिक विवाद र आर्थिक दायित्व पूरा गर्न नसकिएपछि नेपाल बैंकले कर्जा असुली प्रक्रिया अघि बढाएको हो। करिब एक दशकअघि निर्माण भई सञ्चालनमा आएको उक्त रिसोर्ट ४८ कोठाको संरचनामा फैलिएको छ र करिब ९५ रोपनी क्षेत्रफलमा अवस्थित छ।

हाल सो रिसोर्टमध्ये २४ वटा कोठा मात्र सञ्चालनमा रहेको जनाइएको छ। परियोजनाका लागि बैंकबाट ३२ करोड रुपैयाँ ऋण लिइएको थियो। तर ब्याज तथा जरिबानासहित हालसम्म करिब ३९ करोड ५४ लाख रुपैयाँ कर्जा असुली प्रक्रियामा रहेको बैंकले जनाएको छ। उक्त रकममा ५ करोड ६६ लाख रुपैयाँ ब्याज र १ करोड १८ लाख रुपैयाँ जरिबाना समेत समावेश छ।

बैंक स्रोतका अनुसार तोकिएको किस्ताबापत ५ करोड ६६ लाख रुपैयाँ भुक्तानी भएमा लिलामी प्रक्रिया रोक्न सकिने विकल्प भए पनि सञ्चालकहरू ऋण चुक्ता गर्न तयार नभएपछि प्रक्रिया अघि बढाइएको हो।

नेपाल बैंकले गत जेठ १ गते ३५ दिने सार्वजनिक सूचना जारी गर्दै ऋण चुक्ता गर्न आह्वान गरेको थियो। तोकिएको म्यादभित्र कुनै सम्पर्क वा भुक्तानी नभएपछि असार ५ गतेका लागि लिलामी प्रक्रिया तय गरिएको थियो। तर लगानी मूल्यभन्दा कम मूल्यमा बोलकबोल पर्ने सम्भावना देखिएपछि तत्कालका लागि लिलामी स्थगित गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै आगामी चरणमा सम्पत्ति लिलामी प्रक्रिया पुनः अघि बढाइनेछ।

यसैबीच, परियोजनामा सञ्चालकहरूबीचको व्यक्तिगत टकराव र आन्तरिक विवादले व्यवस्थापनमा गम्भीर असर पारेको बताइएको छ। साथै मुख्य लगानीकर्तामध्ये एक सुवास प्रधानसँग सम्बन्धित आर्थिक अनियमितताका आरोपका कारण अन्य सञ्चालकहरूको लगानी समेत जोखिममा परेको दाबी गरिएको छ।

पर्यटन क्षेत्रलाई लक्षित गरी निर्माण गरिएको उक्त रिसोर्ट हाल वित्तीय संकट र व्यवस्थापकीय विवादको चपेटामा परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *