`

सिन्धुपाल्चोकको मिनी रंगशाला सात वर्षदेखि अधुरै

Nepal One HD ९ असार २०८३ १४:२६
खेलकुद

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रंगशाला सम्झौता भएको सात वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना लामो समयदेखि अलपत्रजस्तै बनेपछि बागमती प्रदेश सरकारले निर्माण कार्यलाई तत्काल गति दिन निर्देशन दिएको हो।

बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले स्थलगत अनुगमनका क्रममा ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै अब कुनै बहानामा काम रोक्न नहुने स्पष्ट पारेकी छन्। उनले परियोजनालाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै आवश्यक समन्वय प्रदेश सरकारले गर्ने बताइन्।

मन्त्री नेपालले भनिन्, ‘यो रंगशाला सिन्धुपाल्चोकका खेलाडी मात्र नभई समग्र जिल्लाको खेलकुद विकाससँग जोडिएको महत्वपूर्ण पूर्वाधार हो। बाँकी कामलाई तीव्रता दिई छिटो सम्पन्न गर्न सरकार पूर्ण रूपमा सहयोग गर्न तयार छ।’

अनुगमनका क्रममा उनले ठेकेदार पक्षलाई ढिलाइ नगरी काम अघि बढाउन चेतावनी दिँदै अब बहानाबाजी स्वीकार्य नहुने बताइन्। मन्त्रालयका सचिव, सामाजिक विकास कार्यालयका प्रमुख तथा अन्य सरोकारवाला अधिकारीहरू पनि अनुगमन टोलीमा सहभागी थिए।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत काभ्रेपलाञ्चोकस्थित सार्वजनिक निर्माण कार्यान्वयन एकाइ र सुनकोशी–गिरी ज्वाइन्ट भेन्चरबीच रंगशाला निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। २०७६ भदौ २ गते तत्कालीन सामाजिक विकास मन्त्री युवराज दुलालले परियोजनाको शिलान्यास गरेका थिए।

डिजाइन अहिलेसम्म पाँच पटक संशोधन भइसकेको रंगशालामा अखिल नेपाल फुटबल संघ (एन्फा) मापदण्डअनुसार १०० मिटर लम्बाइ र ६५ मिटर चौडाइको फुटबल मैदान रहनेछ। करिब ६ हजार दर्शक क्षमताको प्याराफिट, पाँच सय सवारीसाधन अट्ने पार्किङ, ड्रेसिङ रुम लगायतका संरचना निर्माण गर्ने योजना छ।

करिब ४१ करोड ६२ लाख रुपैयाँ लागतको यो परियोजना समयमै सम्पन्न हुन नसक्दा दुई पटक म्याद थप भइसकेको थियो। पछिल्लो चरणमा निर्माण कम्पनी सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रालिले जिम्मा लिएपछि काम अघि बढाइएको भए पनि विभिन्न प्रशासनिक र वित्तीय कारणले प्रगति प्रभावित भएको बताइएको छ।

निर्माण व्यवसायीका प्रतिनिधि जेबी लिम्बूका अनुसार मूल्य समायोजन बापतको रकम समयमै नपाउँदा फ्लडलाइट जडानलगायत अन्तिम चरणका काम प्रभावित भएका छन्। यद्यपि कम्पनीले निर्माण कार्य तीव्र गतिमा अघि बढाइरहेको दाबी गरिएको छ।

तर स्थानीय युवाहरूले भने ठेकेदारको ढिलासुस्तीका कारण आयोजना लामो समयदेखि अलपत्र परेको आरोप लगाएका छन्। जिल्ला फुटबल संघका अनुसार रंगशाला समयमै पूरा नहुँदा जिल्लामा खेलकुद गतिविधि प्रभावित भएका छन्।

रंगशाला निर्माण सम्पन्न भएमा राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *