रोनाल्डो चम्किँदा पोर्चुगलको ३-० अग्रता, विश्वकपमा ऐतिहासिक कीर्तिमान
काठमाडौं। विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो फेरि एकपटक चम्किएका छन्।
फिफा विश्वकप २०२६ अन्तर्गत उज्वेकिस्तानविरुद्धको खेलमा पहिलो हाफमै दुई गोल गर्दै उनले पोर्चुगललाई बलियो अवस्थामा पुर्याएका छन्।
अमेरिकाको ह्युस्टनमा जारी समूह ‘के’ को खेलमा रोनाल्डोले खेलको छैटौं मिनेटमै गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाए।
उक्त गोल केवल टोलीका लागि महत्वपूर्ण मात्र रहेन, रोनाल्डोका लागि ऐतिहासिक पनि बन्यो। उनले लगातार ६ वटा विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडीको कीर्तिमान कायम गरे।
पहिलो खेलमा डीआर कंगोविरुद्ध गोल गर्न नसकेका रोनाल्डोले उज्वेकिस्तानविरुद्ध भने सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरे। उनको नेतृत्वमा पोर्चुगलले विपक्षीमाथि लगातार दबाब सिर्जना गर्यो।
खेलको १७औं मिनेटमा नुनो मेन्डेजले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।
रोनाल्डोको उत्कृष्ट प्रदर्शन भने त्यतिमै रोकिएन। उनले ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को सहज अग्रता दिलाए। पहिलो हाफमै दुई गोल गरेपछि रोनाल्डो फेरि एकपटक विश्व फुटबलको केन्द्रबिन्दु बनेका छन्।
सन् २००६ मा विश्वकप डेब्यु गरेका रोनाल्डोले त्यसयता २०१०, २०१४, २०१८, २०२२ र अहिले २०२६ मा पनि गोल गर्दै अद्वितीय उपलब्धि हासिल गरेका हुन्।
चार दशक नजिक पुग्दा पनि उनको फिटनेस, गोल गर्ने क्षमता र खेलप्रतिको समर्पणले उनलाई अझै विश्व फुटबलका सर्वश्रेष्ठ खेलाडीमध्ये एक बनाइराखेको छ।
उज्वेकिस्तानविरुद्धको खेलमा रोनाल्डो चम्किँदा पोर्चुगल नकआउट चरण नजिक पुगेको छ भने कप्तान रोनाल्डोले आफ्नो महान् फुटबल यात्रामा अर्को ऐतिहासिक अध्याय थपेका छन्।
