काठमाडौंमा वर्ल्डकप क्रेज [फोटो-फिचर]
काठमाडौं। अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फुटबल विश्वकपको रौनक नेपालसम्म आइपुगेको छ।
मैदान हजारौँ किलोमिटर टाढा भए पनि त्यसको उत्साह भने नेपाली फुटबल समर्थकहरूको मन र सडकसम्म फैलिएको देखिन्छ। विशेषगरी संघीय राजधानी काठमाडौं यतिबेला विश्वकपको रंगमा रंगिएको छ।
उपत्यकाका मुख्य सडक, चोक, गल्ली तथा सार्वजनिक स्थलहरूमा विश्वकपको चर्चा छ। विभिन्न देशका राष्ट्रिय टोलीका जर्सी लगाएका युवायुवती, घर र पसलमा सजाइएका झण्डा, खेल हेर्न भेला हुने समर्थकहरूको भीड तथा विश्वकप केन्द्रित बहसले काठमाडौंको वातावरण फुटबलमय बनेको छ।
कतिपय स्थानमा अर्जेन्टिना, ब्राजिल, फ्रान्स, पोर्चुगल, स्पेन, जर्मनी लगायतका टोलीका झण्डा फहराइएका छन् भने समर्थकहरू आफ्नो मनपर्ने टोलीको पक्षमा खुलेर उत्साह व्यक्त गरिरहेका छन्। क्याफे, रेष्टुरेन्ट र सार्वजनिक स्थलहरूमा राति अबेरसम्म खेल हेर्ने दर्शकहरूको चहलपहल देख्न सकिन्छ।
विश्वकपका खेलहरू प्रत्यक्ष प्रसारण हुने समयतालिकाअनुसार समर्थकहरूले आफ्ना दैनिकीसमेत मिलाइरहेका छन्। सामाजिक सञ्जालदेखि चिया पसलसम्म अहिलेको मुख्य बहस खेलाडीहरूको प्रदर्शन, सम्भावित विजेता र रोमाञ्चक खेलका क्षणहरू बनेका छन्।
फुटबलप्रेमीहरूको यो उत्साहले विश्वकप केवल एउटा खेल प्रतियोगिता मात्र नभई विश्वभरका मानिसलाई जोड्ने सांस्कृतिक उत्सवका रूपमा स्थापित भएको सन्देश दिएको छ। नेपाली समर्थकहरूले पनि आफ्नो टोलीप्रतिको प्रेम र खेलप्रतिको समर्पणमार्फत त्यो विश्वव्यापी उत्सवमा सहभागिता जनाइरहेका छन्।












