जितका बाबजुद यसरी बाहिरियो टर्किए
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणमा टर्कीएले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको छ। तर जितका बाबजुद टर्कीए प्रतियोगिताबाट बाहिरिएको छ।
खेलको सुरुवातमै दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए। अमेरिकाका लागि अस्टिन ट्रस्टीले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। तर टर्कीएले १०औँ मिनेटमा अर्दा गुलरको गोलमार्फत खेललाई बराबरीमा ल्यायो।
पहिलो हाफमै टर्कीएले खेलमा पकड बनाउँदै ३१औँ मिनेटमा ओर्कुन कोकुले गोल गर्दै २–१ को अग्रता दिलाए। दोस्रो हाफमा अमेरिका ४९औँ मिनेटमा सेबस्टियन बरहाल्टरको गोलमार्फत पुनः बराबरीमा फर्कियो।
निर्णायक क्षण भने खेलको इन्जुरी समयको आठौँ मिनेटमा आयो, जहाँ कान आयहानले गोल गर्दै टर्कीएलाई ३–२ को रोमाञ्चक जित दिलाए।
यसअघि टर्कीए पाराग्वे र अस्ट्रेलियासँग पराजित भइसकेको थियो, जसका कारण अन्तिम खेलमा जित निकाल्दा पनि समूह चरण पार गर्न सकेन।
समूह डीमा अमेरिका भने दुई जित र एक हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। अस्ट्रेलिया र पाराग्वेबीचको खेल गोलरहित बराबरीमा सकिएपछि दुवै टोली चार–चार अंकसहित नकआउट चरणमा पुगेका छन्।
यस नतिजासँगै समूह डीको अन्तिम समीकरण पूरा भएको छ, जसमा अमेरिका समूह विजेता बनेको छ भने अस्ट्रेलिया र पाराग्वे पनि अघिल्लो चरणमा प्रवेश गरेका छन्।
