`

आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

Nepal One HD १४ असार २०८३ ६:३३
समाचार

गोरखा । कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ ।

सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँ सभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । सो पालिकाले यो वर्षलाई मनास्लु हिमालको सफल आरोहणको ७०औँ वर्ष पूरा भएको अवसरमा हिरक वर्षका रूपमा मनाइरहेको छ ।

सोही अवसरमा गाउँपालिकाको गाउँसभाले फुञ्जोको नाम पर्यटन सद्भावना दूतका रूपमा सर्वसम्मत अनुमोदन गरेको लामाले बताए । “हाम्रो राष्ट्रको गहनाका रूपमा रहेकी फुञ्जोलाई पर्यटन सद्भावना दूत नियुक्त गरेका छौँ”, उनले भने ।

लामाका अनुसार विश्वभर ख्याति कमाएकी फुञ्जोले सद्भावना दूतका रूपमा मनास्लु क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नेछिन् । आफ्नो जन्मभूमिले दिएको यो सम्मानप्रति कृतज्ञता प्रकट गर्दै फुञ्जोले भनिन्, “यो मेरा लागि ठुलो सम्मान हो र यस क्षेत्रलाई विश्वभर प्रवर्द्धन गर्न म कुनै कसर बाँकी राख्ने छैन ।”

विश्वको आठौँ अग्लो शिखर मनास्लुका अतिरिक्त चुमनुब्रीको आफ्नै अद्वितीय परम्परा छ । अहिंसा क्षेत्र घोषणा भएको १०५ वर्ष पूरा गरेको चुमनुब्रीले अहिंसा क्षेत्रमा जैविक विविधताको पहिचान, निरन्तरता, प्रचारप्रसार र संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले ‘श्याग्या परम्परा संरक्षण ऐन, २०८०’ (२०२३) समेत जारी गरेको थियो ।

स्वीस आल्प्स र नेपालको हिमालय क्षेत्रमा तालिमप्राप्त गरेकी फुञ्जोले १४ घण्टाभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर आरोहण गर्दै सबैभन्दा छिटो आरोहण गर्ने महिलाका रूपमा विश्व कीर्तिमान कायम गरेकी थिइन् । सन् २०२४ मा उनले बेसक्याम्प (आधार शिविर) बाट १४ घण्टा ३१ मिनेटमा सगरमाथाको शिखर चुमेकी थिइन् ।

चुमनुब्री–७ छोकाङपागाउँमा जन्मेकी फुञ्जोले सगरमाथा, ल्होत्से, मनास्लु, चो ओयुका साथै आमादबलाम, लोबुचे र डेनालीलगायतका अन्य हिमालहरूको सफल आरोहण गरिसकेकी छन् । उनले ग्रामीण तथा सीमान्तकृत समुदायहरूलाई जीविकोपार्जन, शिक्षा र दिगो विकासका क्षेत्रमा समेत सहयोग पुर्‍याउँदै आएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *