पूँजीगत खर्चको कमजोरी अर्को वर्षदेखि दोहोरिन दिँदैनौँ : अर्थमन्त्री वाग्ले
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत खर्चको कमजोर अवस्थालाई आगामी आर्थिक वर्षदेखि सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चालु आर्थिक वर्षमा अपेक्षाअनुसार पूँजीगत खर्च हुन नसकेको स्वीकार गर्दै उनले आगामी वर्षदेखि बजेट कार्यान्वयनमा उल्लेखनीय सुधार आउने दाबी गरे।
आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले हालसम्म पूँजीगत खर्च ३५ प्रतिशत पनि पुग्न नसकेको बताए। उनले पूँजीगत खर्च बढाउन सके विकास निर्माणले गति लिने र त्यसको सकारात्मक प्रभाव राजस्व संकलनमा समेत पर्ने उल्लेख गरे।
उनले सरकारले ल्याएको नयाँ बजेट सुधारमुखी रहेको दाबी गर्दै विभिन्न संरचनागत सुधारका कार्यक्रम समेटिएकाले त्यसको परिणाम आगामी आर्थिक वर्षदेखि देखिन थाल्ने विश्वास व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले अहिलेको सरकारले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको स्मरण गराउँदै नयाँ बजेटमार्फत सुधारका आधार तयार गरिएको बताए।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्कबारे उठेका प्रश्नको जवाफ दिँदै यसबाट निम्न आय भएका नागरिक प्रभावित नहुने दाबी दोहोर्याए।
