`

झलनाथले भने – चुनावअघि  एकता गरेको भए बालेन शाहको तानाशाह चल्ने थिएन

Nepal One HD १४ असार २०८३ १५:३६
नेकपा एमाले

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको राजनीतिक परिस्थितिले वामपन्थी शक्तिहरूलाई फेरि एकताबद्ध हुने सन्देश दिएको बताएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अब वामपन्थी एकताको कुनै विकल्प नरहेको धारणा राखे।

लामो समयपछि दुई प्रमुख वामपन्थी दलका नेताहरू एउटै मञ्चमा उभिएको उल्लेख गर्दै खनालले यसलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरे। विगतमा विभिन्न कारणले एकता प्रयास सफल हुन नसकेको स्वीकार गर्दै उनले अब परिस्थितिले नै कम्युनिस्ट शक्तिहरूलाई एक ठाउँमा उभिन बाध्य बनाएको बताए।

‘वामपन्थी एकता आज मात्रै होइन, धेरै अघिदेखि आवश्यक थियो। बीचका वर्षहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो, कहिले के-के पलायो, त्यसैले हामी एकताबद्ध हुन सकेनौँ। अहिले समय र परिस्थितिले फेरि हामीलाई एकताको बाटो रोज्न बाध्य बनाएको छ,’ उनले भने।

खनालले साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूको प्रभावलाई रोक्न पनि वामपन्थी शक्तिहरूबीच दीर्घकालीन सहकार्य आवश्यक रहेको जिकिर गरे।

‘म सबै कमरेडहरूलाई एकताबद्ध हुन आग्रह गर्न चाहन्छु। आजकै दिनबाट कार्यगत मात्र होइन, दीर्घकालीन एकताको थालनी गरौँ। त्यसपछि मात्रै देशमाथि साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले मच्चाइरहेको बबण्डरलाई परास्त गर्न सकिन्छ,’ उनले भने।

सम्बोधनका क्रममा खनालले पछिल्लो प्रतिनिधिसभा निर्वाचनको परिणामबारे पनि आत्मसमीक्षा गरे। चुनावअघि नेकपा एमाले र नेकपाबीच कार्यगत एकता भएको भए अहिलेको जस्तो परिणाम नआउने उनको दाबी थियो।

‘चुनावअघि हामी एक भएका भए आजको परिस्थिति भोग्नुपर्ने थिएन। वामपन्थी शक्तिको अवस्था फरक हुन्थ्यो र अहिलेको सरकारको स्वरूप पनि यही हुने थिएन,’ उनले भने।

उनले आजकै दिनदेखि कार्यगत एकता गरेर जानुपर्ने बताए। आज नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेले चुनावअघि नै एकता गरेको भए आज यो हविगत भोग्न नपर्ने अनुमान गरे ।

उनले भने, ‘  ‘चुनावअघि हामी मिलेको भए आजको परिस्थिति भोग्नुपर्ने थिएन । बालेन शाहको तानाशाह चल्ने थिएन।’

उनले आफ्नो राजनीतिक जीवनमा प्राप्त अवसरहरूको पर्याप्त उपयोग गर्न नसकिएको स्वीकार गर्दै अब विगतका कमजोरीबाट पाठ सिकेर नयाँ सोच, नयाँ प्रतिबद्धता र नयाँ धरातलबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार कम्युनिस्ट आन्दोलनलाई पुनः सशक्त बनाउन आत्मसमीक्षा, संगठनात्मक सुधार र आपसी एकता अपरिहार्य छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *