एकताका नाममा सम्झौता हुँदैन – ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक तथा वैचारिक दिशा सही रहेको दाबी गरेका छन्।
उनले पार्टी एकताको नाममा एमाले आफ्नो स्थापित नीतिमाथि पुनः छलफल वा सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमालेले राजनीतिक, सामाजिक, आर्थिक तथा राष्ट्रिय हितका विभिन्न विषयमा स्पष्ट र सही नीति निर्माण गरेको बताए। ती नीतिहरू नै पार्टीको मार्गदर्शक आधार भएकाले एकताका लागि त्यसमा परिवर्तन गर्न आवश्यक नरहेको उनको भनाइ छ।
उनले भने, ‘हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताका लागि नीतिबारे फेरि छलफल गर्ने पक्षमा छैन। हामीले राजनीतिक, सामाजिक, आर्थिक लगायत सबै क्षेत्रमा सही नीति निर्धारण गरेका छौँ।’
अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद (जबज) लाई समय र परिस्थितिअनुसार थप परिमार्जन तथा विकास गर्दै अघि बढाइने पनि बताए।
उनका अनुसार पार्टी आफ्नो वैचारिक आधारलाई युगअनुकूल बनाउँदै अघि बढ्नेछ, तर मूल सिद्धान्तमा सम्झौता गर्ने पक्षमा रहने छैन।
