`

मेस्सी-रोनाल्डो क्वाटरफाइनल भिडन्तको सम्भावना सकियो

Nepal One HD १४ असार २०८३ १८:०६
खेलकुद

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा पोर्चुगल र कोलम्बियाबीच गोलरहित बराबरी भएपछि नकआउट चरणको समीकरणमा महत्वपूर्ण परिवर्तन आएको छ।

यससँगै फुटबल समर्थकले लामो समयदेखि अपेक्षा गरेको लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको सम्भावित क्वाटरफाइनलमा भेट अब नहुने भएको छ।

समूह ‘के’ अन्तर्गत भएको खेल ०-० को बराबरीमा सकिएपछि कोलम्बिया समूह विजेता बनेको छ भने पोर्चुगल दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो। यसअघि अर्जेन्टिना भने समूह ‘जे’ को विजेताका रूपमा अगाडि बढिसकेको थियो।

सुरुवाती नकआउट समीकरणअनुसार दुवै टोली समूह विजेता बनेको अवस्थामा अर्जेन्टिना र पोर्चुगल क्वार्टरफाइनलमा आमनेसामने हुने सम्भावना थियो। तर पोर्चुगल उपविजेतामा सीमित भएपछि प्रतियोगिताको ब्राकेट परिवर्तन भएको छ।

नयाँ तालिकाअनुसार अर्जेन्टिना र पोर्चुगल अब नकआउट चरणको फरक–फरक भागमा परेका छन्। त्यसैले मेस्सी र रोनाल्डोबीचको बहुप्रतीक्षित प्रतिस्पर्धा अब क्वार्टरफाइनलमा सम्भव छैन। यदि दुवै टोलीले लगातार जित हासिल गर्दै अन्तिम चरणसम्म यात्रा तय गरे मात्र उनीहरू विश्वकपको फाइनलमा एकअर्काको सामना गर्न सक्नेछन्।

अब राउन्ड अफ ३२ मा पोर्चुगलले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ भने अर्जेन्टिनाले केप भर्डेविरुद्ध मैदान उत्रिनेछ।

दुवै टोली विजयी हुँदै अघि बढे पनि उनीहरूको सम्भावित भेट अब विश्वकपको उपाधि भिडन्तमा मात्र सम्भव हुने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *