बालेन सरकारयता निरन्तर घट्दै नेप्से, आज पनि बजार राताम्मे
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेदेखि शेयारबजारमा पहिरो थामिएको छैन।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार छैटौँ कारोबार दिन पनि घटेको छ। गत साताभर निरन्तर ओरालो लागेको बजारले नयाँ साताको पहिलो कारोबार दिन सोमबार पनि सुधारको संकेत दिन सकेन।
दिनभरजसो बिक्री दबाब हाबी हुँदा नेप्से परिसूचक १६.५४ अंकले घटेर २ हजार ६३२ अंकमा बन्द भएको हो।
यसअघि गत साताको पाँचै कारोबार दिन बजार घटेको थियो। सोमबार १.४६ अंक, मंगलबार २६.१७ अंक, बुधबार १४.४६ अंक, बिहीबार ८.५० अंक र शुक्रबार २.०० अंकले बजार ओरालो लागेको थियो। त्यसको निरन्तरतास्वरूप सोमबार पनि लगानीकर्ताको मनोबल कमजोर देखिँदा बजारले लगातार छैटौँ दिन नकारात्मक यात्रा कायम राख्यो।
विश्लेषकहरूका अनुसार बजारमा देखिएको गिरावटको एउटा प्रमुख कारण नयाँ कम्पनी ऐन २०८३ को मस्यौदा पनि बनेको छ। मस्यौदामा सेयर खरिद–बिक्री वा हस्तान्तरण गर्दा हक प्राप्त गर्ने व्यक्तिले १ प्रतिशत हस्तान्तरण शुल्क तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएपछि लगानीकर्ताबीच अन्योल सिर्जना भएको थियो। यद्यपि सम्बन्धित निकायले उक्त व्यवस्था अन्तिम रूपमा लागू नहुने र प्रस्ताव फिर्ता लिइने स्पष्ट पारिसकेको भए पनि त्यसको मनोवैज्ञानिक प्रभाव बजारमा देखिएको विश्लेषण गरिएको छ।
कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार त्यो घटेर २ अर्ब ६७ करोड रुपैयाँ मा सीमित भयो। कारोबार रकम घट्नुले पनि बजारमा खरिदकर्ताको सक्रियता कमजोर रहेको संकेत गरेको छ।
सोमबार कारोबारमा आएका कम्पनीमध्ये २९ कम्पनीको सेयर मूल्य बढ्यो, २४० कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। यसले समग्र बजारमा बिक्री दबाब व्यापक रहेको देखाउँछ।
क्षेत्रगत सूचकतर्फ पनि कुनै समूह सकारात्मक रहन सकेन। निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.३९ प्रतिशत ले घट्यो। उत्पादन तथा प्रशोधन र होटल तथा पर्यटन समूह समान १.१४ प्रतिशत ले ओरालो लाग्दा फाइनान्स समूह पनि १.१३ प्रतिशत ले घट्यो।
त्यस्तै विकास बैंक ०.७९ प्रतिशत, जलविद्युत् ०.७२ प्रतिशत, जीवन बीमा ०.६९ प्रतिशत, माइक्रोफाइनान्स ०.५९ प्रतिशत, अन्य ०.५१ प्रतिशत, व्यापार ०.३२ प्रतिशत तथा बैंकिङ समूह ०.०९ प्रतिशतले घट्दै सबै क्षेत्र राताम्मे बने।
बजार समग्र रूपमा घटे पनि केही कम्पनीका सेयरमा भने सकारात्मक सर्किट लागेको छ। स्नो रिभर फल्स, टक्सार पिखुवाखोला, याम्बलिङ हाइड्रोपावर र धौलागिरि लघुवित्त को सेयर मूल्य १५ प्रतिशतका दरले बढेको छ। यीमध्ये तीन कम्पनी हालै मात्र दोस्रो बजारमा सूचीकृत भएका कम्पनी हुन्।
यसैगरी लक्ष्मी सनराइज बैंक को सेयर मूल्य २.६४ प्रतिशत तथा नेपाल रिपब्लिक मिडिया को २.४९ प्रतिशत ले वृद्धि भएको छ।
अर्कोतर्फ, गिरावटतर्फ स्वाभिमान लघुवित्त सबैभन्दा धेरै प्रभावित बन्यो। कम्पनीको सेयर मूल्य ५.८३ प्रतिशत ले घट्यो। सोपान फार्मास्युटिकल्स को ४.५० प्रतिशत, एसियन हाइड्रोपावर को ४.४० प्रतिशत तथा शिखर पावर को ३.७९ प्रतिशत ले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा भने ग्लोबल आईएमई बैंक, सोपान फार्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स र आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रहे।
लगातारको गिरावट, कारोबार रकममा आएको संकुचन तथा नीतिगत अन्योलले लगानीकर्ताको मनोबल कमजोर बनाइरहेको छ।
