`

पुनर्जागरण : एमालेका १८ प्रश्न

Nepal One HD १५ असार २०८३ १७:३७
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) भित्र पार्टी पुनर्गठन, रूपान्तरण र पुस्तान्तरणको बहस चलिरहेका बेला एमालेनिकट युवाहरूले ‘पुनर्जागरण अभियान-२०८२’ नामक अभियानमार्फत देश-विदेशमा रहेका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा सर्वसाधारणको धारणा संकलन सुरु गरेका छन्।

अभियानका संयोजक गजेन्द्र थपलियाका अनुसार असार १२ गतेदेखि सुरु भएको यो मत सर्वेक्षण असार २२ गतेसम्म सञ्चालन हुनेछ।

अभियान अन्तर्गत गुगल फारममार्फत १८ वटा विषयगत प्रश्न राखिएको छ। सहभागीहरूले पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण, संगठनात्मक पुनःसंरचना, पुस्तान्तरण, आन्तरिक लोकतन्त्र, नीति तथा संगठन सुधारलगायतका विषयमा आफ्नो धारणा राख्न सक्ने व्यवस्था गरिएको छ।

अभियानका संयोजक थपलियाका अनुसार यो सर्वेक्षणको उद्देश्य पार्टीभित्र सीमित तहमा मात्र होइन, तल्लो तहका कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूको प्रत्यक्ष धारणा संकलन गरी पार्टी रूपान्तरणका लागि आवश्यक सुझाव जुटाउनु हो।

उनले संकलित सुझावलाई गोप्य राखिने र त्यसको निष्कर्ष पार्टी नेतृत्वसमक्ष औपचारिक रूपमा पेश गरिने जानकारी दिए। यसपटक प्राप्त नतिजा सार्वजनिक गर्ने तयारीसमेत गरिएको उनले बताए।

नेकपा (एमाले) ले पार्टीको चुनावी समीक्षा, संगठन सुदृढीकरण र पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदल गठन गरी विभिन्न प्रदेशमा सुझाव संकलन गरिरहेको छ। तर त्यो प्रक्रिया मुख्यतः पार्टीका जिम्मेवार नेता तथा सीमित कार्यकर्तामा केन्द्रित रहेको भन्दै पुनर्जागरण अभियानले फराकिलो दायरा समेट्ने प्रयास गरेको जनाएको छ।

अभियानका संयोजक थपलियाले पार्टीका संगठित सदस्य मात्र नभई समर्थक, शुभेच्छुक, विदेशमा रहेका नेपाली तथा स्वतन्त्र नागरिकको समेत धारणा पार्टीका लागि महत्त्वपूर्ण हुने बताए। उनका अनुसार व्यापक सहभागितामार्फत प्राप्त सुझावले पार्टीको भावी रणनीति निर्माणमा थप यथार्थपरक आधार प्रदान गर्ने विश्वास गरिएको छ।

सर्वेक्षणमा विशेषगरी नेतृत्व हस्तान्तरण, पुस्तान्तरण, संगठनात्मक पुनर्संरचना र पार्टी सञ्चालनको शैलीलाई केन्द्रमा राखिएको छ।

अभियानका पक्षधरहरूको भनाइमा बदलिँदो राजनीतिक परिवेश, युवा पुस्ताको अपेक्षा तथा संगठनभित्र देखिएका चुनौतीलाई सम्बोधन गर्न समयानुकूल सुधार आवश्यक भइसकेको छ। त्यसका लागि कार्यकर्ताको प्रत्यक्ष राय संकलन गरिनु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष हुने उनीहरूको तर्क छ।

सर्वेक्षण फारमको प्रारम्भमै एमाले रूपान्तरणसँग सम्बन्धित धारणा स्पष्ट रूपमा उल्लेख गरिएको छ। त्यसमा अहिले एमालेभित्र रूपान्तरण, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको प्रक्रियालाई अघि नबढाए नेपालको कम्युनिस्ट आन्दोलन थप कमजोर बन्न सक्ने चेतावनी दिइएको छ।

फारममा उल्लेख गरिएको सन्देशअनुसार कम्युनिस्ट आन्दोलनको भविष्य जोगाउन संगठनात्मक सुधार अपरिहार्य रहेको र त्यसका लागि कार्यकर्ता तथा शुभेच्छुकको सुझाव अत्यन्त महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।

साथै सहभागीहरूले दिएका सुझाव पूर्ण रूपमा गोप्य राखिने प्रतिबद्धता पनि अभियानले जनाएको छ।

अभियानमार्फत प्राप्त निष्कर्ष एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको पुनर्गठन कार्यदललाई बुझाइने जानकारी अभियान पक्षले दिएको छ। पार्टी पुनर्गठनबारे चलिरहेको बहसलाई थप सशक्त बनाउन कार्यकर्ताको प्रत्यक्ष सहभागिता आवश्यक रहेको उनीहरूको भनाइ छ।

यो समूहले यसअघि एमालेको विधान महाधिवेशनअघि पनि ७० वर्षे उमेर हद, दुई कार्यकालको नेतृत्व व्यवस्था तथा संगठनात्मक सुधारलगायत विषयमा छुट्टै मत सर्वेक्षण सञ्चालन गरेको थियो।

त्यसबेला संकलित सुझाव शिलबन्दी गरेर पार्टी नेतृत्वलाई बुझाइएको थियो। तर यसपटक भने सर्वेक्षणको समग्र निष्कर्ष सार्वजनिक गर्दै पार्टीभित्र थप खुला बहसको वातावरण सिर्जना गर्ने तयारी गरिएको अभियान पक्षले जनाएको छ।

एमालेभित्र पछिल्ला वर्षहरूमा नेतृत्व हस्तान्तरण, संगठन सुदृढीकरण, पुस्तान्तरण र आन्तरिक लोकतन्त्रका विषयमा विभिन्न तहमा बहस भइरहेका बेला सुरु गरिएको यो अभियानलाई पार्टीभित्रको वैचारिक छलफललाई फराकिलो बनाउने अर्को प्रयासका रूपमा हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *