सुस्ताको माटो बोकेर पहिचानको लडाइमा सुस्ताबासी(फोटो-फिचर)
काठमाडौं। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को सुस्ता क्षेत्रका बासिन्दा नागरिकता, लालपुर्जा र सीमा सुरक्षाको माग गर्दै काठमाडौं आएका छन्। आफ्नै गाउँको माटो बोकेर राजधानी आइपुगेका उनीहरूले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्।
सुस्ताबासीहरूले नागरिकता र लालपुर्जाविहीन अवस्थामा वर्षौंदेखि बाँच्नुपरेको गुनासो गर्दै सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले प्रदर्शनका क्रममा सुस्ताको माटो प्रदर्शनस्थलमा राख्दै आफ्नो भूमि र पहिचान जोगाइदिन सरकारसँग अपिल गरेका थिए।
सुस्ता–बर्दघाटका घर भएका हेमराज दाहालका अनुसार भारतीय एसएसबीले खेतमा रहेको ट्याक्टर हटाउनसमेत धम्की दिने गर्छ। वर्षौंदेखि सीमा सुरक्षाको जिम्मेवारी बोर्डर छेउका नागरिकले नै निभाउँदै आए पनि सरकारले त्यसको कुनै मूल्यांकन नगरेको उनले दुखेसो पोखे।
‘सीमाको सुरक्षा हामीले गर्छौं, तर सरकारले हामीलाई नै अप्ठ्यारोमा पारिदिन्छ,’ हेमराजले भने।
प्रधानमन्त्री बालेन्द्र शाहको हस्तक्षेपपछि भारतीय हस्तक्षेप झन् बढेको उनले बताए। ‘प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको छ भनेपछि हामी झन् अप्ठ्यारोमा पर्यौं। अहिले भारतीय सीमा सुरक्षा बल दैनिकजसो सुस्ता छिर्छ र हामीलाई धम्की दिएर फर्किन्छ,’ उनले भने।
प्रदर्शनमा सहभागीहरूले पछिल्लो समय भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सुस्ता क्षेत्रमा प्रवेश गरी स्थानीयलाई धम्क्याउने र मानसिक दबाब दिने गतिविधि बढेको आरोप लगाए। उनीहरूका अनुसार विशेषगरी पछिल्ला दुई महिनायता सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गतिविधि बढेपछि स्थानीय त्रसित बनेका छन्।
माइतीघर पुगेका अधिकांश सुस्ताबासीले नागरिकता र पहिचानको माग गरिरहेका छन्। सधैँभरी भारतीय हेपाइ र अत्याचार बस्न नसक्ने उनीहरुको गुनासो छ।
‘भारतीय एसएसबी आएर हामीलाई दुख दिन्छ। बन्दुक देखाएर तर्साउछ। गोली खान परेपनि नेपालकै गोली खान्छौँ, हामीलाई नागरिकता चाहियो,’ प्रदर्शनमा सहभागी एक महिलाले भनिन्।
पहिलो चरणमा करिब ६० परिवारका प्रतिनिधि काठमाडौं आएको जनाइएको छ। उनीहरूले माइतीघर मण्डलाबाटै अनिश्चितकालीन आन्दोलन सुरु गरेको बताएका छन्। सरकारबाट माग सम्बोधन नभए दोस्रो चरणमा थप पीडित परिवार पनि काठमाडौं आएर आन्दोलनमा सहभागी हुने चेतावनी उनीहरूले दिएका छन्।
आन्दोलनमा सहभागी एक स्थानीयले वर्षौंदेखि आफ्नै देशमा नागरिकता र लालपुर्जाविहीन भएर बाँच्नुपरेको भन्दै सीमा क्षेत्रमा सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गरे।
‘हामी आफ्नै देशमा नागरिकता र लालपुर्जाविहीन भएर बाँचिरहेका छौं। अहिले त भारतीय सुरक्षाकर्मी गाउँमै आएर धम्क्याउन थालेका छन्। सरकारले हाम्रो सुरक्षा र अधिकार सुनिश्चित गर्नुपर्छ,’ उनले भने।
सुस्ताबासीहरूले सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा, नागरिकता तथा लालपुर्जाको समस्या समाधानका लागि तत्काल ठोस पहल गर्न सरकारसँग माग गरेका छन्।














