सेयर बजारमा उछाल, नेप्से ४४ अंकले बढ्यो
काठमाडौं। लगातार ओरालो लागेको नेपाली सेयर बजारमा बुधबार अचानक सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४ अंकले बढ्दै २६५२ विन्दुमा पुगेको हो ।
बुधबारको कारोबारमा बजारमा सकारात्मक माहोल देखिँदा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा आज बढेर ३ अर्ब ८६ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
आज कुल २५२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १७ कम्पनीको मूल्य घटेको छ । साथै ६ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारका सबै सूचक हरियाली देखिएको छ, जसले समग्र बजारमा लगानीकर्ताको मनोबल केही सुधारिएको संकेत गरेको छ ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स र आखु खोला जलविद्युत् अग्रस्थानमा रहेका छन् ।
आजको कारोबारमा स्नो रिभर्स लिमिटेड र सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ भने भुजुङ हाइड्रोपावरको मूल्य १३ प्रतिशतले बढेको छ ।
विश्लेषकहरूका अनुसार लगातार गिरावटपछि आएको यो सुधारलाई बजारको ‘टेक्निकल रिबाउन्ड’ का रूपमा पनि हेरिएको छ, यद्यपि आगामी दिनमा यसको स्थायित्व कस्तो हुन्छ भन्ने विषयमा अझै अनिश्चितता कायम छ ।
