`

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

Nepal One HD १८ असार २०८३ ११:३७
नेकपा एमाले

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमाथि बिहीबार सुनुवाइ हुने भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलको रिट न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेश हुन लागेको हो।

यसअघि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतमा दायर व्यापारी दीपक भट्ट, सुलभ अग्रवाललगायतविरुद्धको सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर तथा बीमासम्बन्धी कसुरका मुद्दाका फाइल झिकाउन आदेश दिएको थियो। ती फाइलहरू इजलासमा देखाएर फिर्ता लैजाने गरी पेश गर्न अदालतले निर्देशन दिएको छ।

यसअघि असार ११ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।

उता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने अनुसन्धानका लागि विशेष अदालतबाट पटक–पटक हिरासत म्याद लिँदै आएको छ। असार १५ गते पौडेललाई विशेष अदालतमा उपस्थित गराइएपछि न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले दोस्रो पटक थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

यसअघि असार ९ गते विशेष अदालतले पहिलो पटक सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसपछि असार १० गते पौडेलकी पत्नी दोमायाले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *