मूल्य घट्दा पेट्रोल पम्प बन्द गर्ने व्यावसायीलाई कारबाही गर्न माग
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पहरूमाथि तत्काल कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल आयल निगमले इन्धनको मूल्य घटाउने निर्णय गरेलगत्तै देशका विभिन्न स्थानमा पेट्रोल र डिजेल लुकाएर बिक्री वितरण रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद रोकायले मूल्य बढ्दा तत्कालै त्यसको भार बोक्न बाध्य हुने सर्वसाधारणले मूल्य घट्दा पनि त्यसको प्रत्यक्ष लाभ पाउनुपर्नेमा जोड दिए।
‘यसरी कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि सरकारले तत्काल छानबिन गरी कानुनबमोजिम कडा कारबाही गरोस्,’ उनले भने।
रोकायले इन्धनको मूल्य घटिसकेको अवस्थामा सार्वजनिक यातायात र हवाई सेवाको भाडा पनि अविलम्ब पुनरावलोकन गरी घटाउनुपर्ने माग गर्दै त्यसबाट सर्वसाधारणलाई राहत दिन सरकारसँग आग्रह गरे।
