`

सञ्चारमन्त्री तिमिल्सिनाको प्रश्न : ती बिचौलिया श्रमजीवी पत्रकार हुन् ?’

Nepal One HD २१ असार २०८३ १५:५१
प्रमुख खबर

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आफू श्रमजीवी पत्रकारको पक्षमा रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघको कार्यक्रममा बोल्दै उनले श्रमजीवीको हितका लागि विनियोजन हुने रकममध्ये ठूलो हिस्सा बिचौलियाको हातमा जाने विषयमा किन प्रश्न नउठाइएको भन्दै आलोचनात्मक टिप्पणी गरे।

उनले भने, ‘न्युज रिपोर्टहरूमा विज्ञापनको रकम दुरुपयोग भयो भन्ने ब्रेक भएको बेला नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गर्‍यो कि गरेन ? ती बिचौलिया श्रमजीवी पत्रकार हुन् ?’

मन्त्री तिमिल्सिनाले मिडिया क्षेत्रलाई सुदृढ बनाउन आवश्यक नीतिगत बहस आवश्यक रहेको उल्लेख गर्दै वर्तमान मिडिया इकोसिस्टममा सुधारको खाँचो रहेको बताए।

उनका अनुसार सरकारले मिडिया क्षेत्रलाई निरन्तर संरक्षण गरिरहनुपर्ने अवस्थाको सट्टा आत्मनिर्भर र जवाफदेही प्रणाली विकास गर्नुपर्ने आवश्यकता छ।

उनले भने, ‘मिडिया सेक्टरलाई बलियो बनाउन के गर्नुपर्छ बहस गरौँ। तर यस्तो प्रणाली बनोस् कि सरकार जहिल्यै मिडिया सेक्टरबाट डराउनु पर्ने अवस्था नआओस्।’

मन्त्री तिमिल्सिनाले राजनीति र मिडिया दुवै क्षेत्र जवाफदेही (अकाउन्टेबल) हुनुपर्नेमा जोड दिँदै पत्रकारिताको मूल धर्मअनुसार प्रश्न उठाउन आग्रह गरे।

उनले मिडिया क्षेत्रका समस्या समाधानका लागि सरकार संवाद र छलफलमा तयार रहेको उल्लेख गर्दै सरोकारवालालाई सहकार्यका लागि आह्वान पनि गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *