`

सय दिनमा सरकार असफल : आरेन राई

Nepal One HD २१ असार २०८३ १६:२४
बिशेष

काठमाडौं। श्रम संस्कृति पार्टीका महासचिव तथा प्रतिनिधिसभा सदस्य आरेन राईले सरकारले आफ्नै कार्यसूचीअनुसार काम गर्न नसकेको बताएका छन्।

अनामनगरस्थित नेसनल प्रेस क्लब नेपाल (एनपीसीएन) ले आयोजना गरेको ‘सरकारको कर्तव्य र प्रतिपक्षको भूमिका’ विषयक विचार तथा छलफल कार्यक्रममा बोल्दै उनले सरकारका कामकारबाही जनताले नियालिरहेको बताएका हुन्।

‘सरकारका सय दिनका काम जनताले पनि नियालिरहेका छन्,’ उनले भने, ‘पहिला संविधान संशोधनको कुरा गरौँ। सरकारले संविधान संशोधनका नाममा जनताका हकअधिकार संकुचित पार्ने काम गरिरहेको छ।’

त्यस्तै, उनले सरकारले संघीयता खारेज गर्ने भन्दै बबन्डर मच्चाइरहेको बताए। ‘जेनजी आन्दोलनको माग र २१ फागुनको निर्वाचनको मतादेश अर्कै थियो, सरकारले अर्कै काम गरिरहेको छ,’ उनले भने।

बजेटलगायत सरकारका सय दिनका कामको आलोचना गर्दै राईले नयाँ भनेर आएको सरकारले नयाँ केही पनि गर्न नसकेको बताए। अध्यादेश ल्याउने, आफ्नै मान्छेलाई विभिन्न संस्थाहरूमा नियुक्ति दिने लगायतका कार्यले सुशासन नदिने उनको धारणा छ। ‘सरकारको पारदर्शिताको मापदण्ड के हो, देखिएन,’ उनले प्रश्न गरे।

राईले काठमाडौंका खोला किनारमा बसिरहेका सुकुमवासीहरूको सरकारले बिचल्ली बनाएको आरोप लगाए। ‘व्यवस्थापनका नाममा खोला किनारमा बसेका अव्यवस्थित सुकुमवासीलाई सरकारले व्यवस्थापनको योजना नै नबनाई लखेट्ने काम गर्‍यो,’ उनले भने।

त्यस्तै, राईले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले १७ जेठमा संसद्को रोस्ट्रमबाट ‘नेपालले पनि भारतका धेरै ठाउँमा जग्गा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको दाबी गरे। उनका अनुसार प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्ति सच्याइनुपर्छ र संसद्को रेकर्डबाट हटाइनुपर्छ। ‘चितवनमा पार्टीको महाधिवेशनमा गएर दिएको स्पष्टीकरण मान्य हुँदैन। संसदमा नै दिनुपर्छ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *