`

काम नगर्ने मन्त्री/मेयर सबैलाई थुन्छौं : पूर्वाधारमन्त्री सुनील लम्साल

Nepal One HD २२ असार २०८३ १२:५८
प्रमुख खबर

काठमाडौं। पूर्वाधारमन्त्री सुनील लम्सालको सार्वजनिक अभिव्यक्ति फेरि चर्चामा आएको छ। तनहुँमा आयोजित एक कार्यक्रममा उनले जनताको काम नगर्ने प्रदेशमन्त्री र जिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार कारबाही हुने चेतावनी दिएका छन्।

आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका-५, दुलेगौँडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै लम्सालले जनप्रतिनिधि र सरकारी पदाधिकारी जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन्।

उनले नागरिकको काममा बेवास्ता गर्ने, सेवाप्रवाहमा ढिलाइ गर्ने वा जनतालाई अपमानजनक व्यवहार गर्ने पदाधिकारीविरुद्ध सूचना दिन आग्रह गरे।

‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं हामी,’ उनले भने।

लम्सालले जनप्रतिनिधिको मुख्य दायित्व नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउनु भएको उल्लेख गर्दै जिम्मेवारीबाट पन्छिन नहुने बताए।

उनका अनुसार स्थानीय तहका प्रमुख, प्रदेश सरकारका पदाधिकारी वा अन्य जिम्मेवार व्यक्तिले जनतालाई दुःख दिएको, काममा लापरबाही गरेको वा सेवामा अवरोध सिर्जना गरेको जानकारी भए सम्बन्धित निकायमा उजुरी गर्नुपर्नेछ।

उनले त्यस्ता विषयमा कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने पनि बताए।

यो पहिलो पटक भने होइन, लम्सालको अभिव्यक्ति विवादमा परेको। यसअघि उनले काम नगर्ने ठेकेदारहरूको ‘खुट्टा भाँच्ने’ भन्ने अभिव्यक्ति दिएका थिए, जसको सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक आलोचना भएको थियो।

यसपटक पनि ‘काम नगर्ने मन्त्रीलाई थुन्छौं’ भन्ने उनको भनाइको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ।

यद्यपि, कार्यक्रममा उनले समग्र रूपमा जनप्रतिनिधि र सार्वजनिक पदमा रहेका व्यक्तिहरूले नागरिकप्रति इमान्दार, उत्तरदायी र जवाफदेही भएर काम गर्नुपर्ने सन्देश दिएको सहभागीहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *