`

संसद बैठक १५ मिनेटका लागि स्थगित

Nepal One HD २४ असार २०८३ ११:३३
नेकपा एमाले

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राई र सभामुख डोलप्रसाद अर्यालबीच विवाद भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

बैठकको सुरुमै बोल्ने क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै, ‘तपाईंले कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्ने टिप्पणी गरेका थिए। त्यसपछि सभामुख अर्यालले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई संसदीय मर्यादाविपरीत भएको बताए।

सभामुखले राईलाई आफ्नो अभिव्यक्ति सच्याउन र संसद्को गरिमा कायम राख्न आग्रह गरेका थिए। तर, राईले आफ्नो भनाइलाई निरन्तरता दिन खोजेपछि सभामुखले उनलाई बोल्नका लागि छुट्याइएको समय नदिने निर्णय सुनाए। उनले संसद् सञ्चालनका क्रममा संसदीय नियम, प्रक्रिया र मर्यादाको पालना सबै सांसदले गर्नुपर्ने स्पष्ट पारे।

सभामुखको निर्णयपछि एमाले सांसदहरूले विरोध जनाउँदै बैठकमा होहल्ला गरेका थिए। आफ्नो दलका सांसदलाई बोल्न नदिएको भन्दै उनीहरूले आपत्ति जनाएपछि संसद्को वातावरण तनावग्रस्त बनेको थियो।

लगातारको अवरोध र होहल्लाका बीच सभामुख अर्यालले बैठकको कार्यवाही १५ मिनेटका लागि स्थगित गरेका छन्। एमाले सांसदहरूको विरोध जारी रहेको छ भने बैठक पुनः सञ्चालनबारे निर्णय स्थगित अवधिपछि गरिने जनाइएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *