`

सभामुखलाई तपाईंको खुट्टी हेरियो भनेपछि [भिडियो]

Nepal One HD २४ असार २०८३ १२:१२
नेकपा एमाले

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले राईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनलाई बोल्नका लागि थप समय दिन अस्वीकार गरेका छन्।

बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै, ‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै प्रश्न गरेका थिए। उक्त अभिव्यक्तिलाई सभामुखले आफ्नो मात्र नभई संसद्को समेत अपमान भएको टिप्पणी गरे।

सभामुख अर्यालले राईलाई सम्बोधन गर्दै भने, ‘आफ्नो भनाइ मर्यादामा बसेर बोल्नुहोस्। माननीय सदस्यलाई योभन्दा अगाडि बढ्न म निर्देशन दिन्नँ, बस्नुस्। माननीय सदस्यले सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभाको अपहेलना गर्दै हुनुहुन्छ। त्यसकारण बस्नुस्।’

सभामुखले बोल्न नदिएपछि एमालेका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। उनीहरूले सभामुखको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै बैठकमा अवरोध गरेका छन्।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले पनि सांसद राईको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्। उनले उक्त अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको भन्दै संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन सभामुखसँग माग गरेकी छन्।

सांसद राईको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच विवाद चर्किएपछि प्रतिनिधिसभाको बैठक तनावपूर्ण बनेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *